जितिया, के तपाईं यो नामसँग परिचित हुनुहुन्छ ? सम्भवत: तपाईंले ‘छैन’को भावमा टाउको हल्लाउनुहुनेछ । जबकि लाखौं मधेशी समुदायको हृदयमा उमंगको झंकार पैदा गर्ने नाम हो यो । किनभने उनीहरुको जीवन पद्धतिसँग यो पर्व अभिन्न रुपले जोडिएको छ । त्यसैले त जब-जब जितिया सुरु हुन्छ, मधेशको आँगन उत्सवले नाच्न थाल्छ ।
यो पर्वमा नेपालका ७७ लाख ७० हजार बढी मधेशी समुदाय एकसाथ रमाउँछन् । नेपालको जनगणना २०७८ अनुसार जितिया मनाउनेहरुको जनसंख्या कुल जनसंख्याको करिब २६ दशमलव ६५ प्रतिशत अर्थात् ७७ लाख ७० हजार भन्दा बढी जनसंख्या रहेका छन् ।
मधेशी समुदाय अन्तर्गतका यादव, तेली, कोइरी, मलाह, ब्राह्मण, कायस्थ, चमार, मुसहर, खत्वे, धानुक, नुनिया, सुडी, हलुवाई, कामत, कलवार, केवट, रौनियार, देव, दुसाध, झागड लगायत ४८ भन्दा बढी जातीय समुदायले मनाउँछन् । त्यस्तै थारु, राजवंशी तथा खवासहरुले पनि यो पर्व मनाउने गरेका छन् ।
भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जितमहान थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून् भनी नेपालको मिथिला क्षेत्र र उत्तर तथा पूर्व भारतमा जितिया श्रद्धापूर्वक मनाइन्छ ।
यस पर्वमा आमाहरू आफ्ना सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चौबीस घण्टा वा अझै बढी निर्जला व्रत बस्छन् जो ‘जितिया व्रत’ नामले प्रख्यात छ । निर्जला व्रतमा पानी पिउन पनि वर्जित हुन्छ । यसरी अन्नपानी केही नखाई आफ्ना सन्तानको सुखशान्ति र चिरायुका लागि आमाहरूले व्रत बस्छन् ।
यस पर्वसँग जोडिएका धेरै कथा छन् । जितमहानको नामबाट नै जितिया भएको विश्वास छ । एक पौराणिक कथाअनुसार जितमहान नामका एक गन्धर्व राजा राजकाज त्यागेर आफ्ना बाबुको सेवा गर्न जंगल गए । जंगल घुम्दै गर्दा उनले एक जना शोकाकुल वृद्धालाई देखे ।
उनले महिलालाई शोकको कारण सोधे । महिलाको शोकका कारण उनको एक मात्र छोरालाई गरुडलाई बुझाउनुपर्ने भएकाले थियो । महिलाका अनुसार उनी नाग वंशकी छोरी रहेको र उनको एक मात्र छोरा रहेको बताइन् । उनले गरेको भाकलका कारण उनको सो एक मात्र छोरालाई भोलि गरुडलाई भेटी चढाउनुपर्ने भएकाले शोकमा रहेको बताइन् ।
जितमहानले ती वृद्धाको छोरो बचाउने वाचा गरे । भोलिपल्ट ती महिलाले भेटी चढाउने ठाउँमा गए अनि तिनका छोराको साटो आफूलाई नै गरूडसामु समर्पण गरे । गरूडले खान खोज्दा उनी तर्सिएनन्, प्रसन्न र अभय पो देखिए । त्यस्तो अभय अवस्था देखेर गरूडले उनको परिचय मागे ।
जितमहानले विस्तारपूर्वक आफ्नो परिचय दिए । उनको निर्भिकता र उदारताबाट गरूड प्रसन्न भए । गरुडले त्यसउप्रान्त बली नलिने र जितमहानको उपासना गर्ने आमाहरूका सन्तानको भलाइ हुने वरदान दिए । यसै घटनापछि महिलाले जितमहानको उपसना गर्दै जितिया सुरू गरेको भनाइहरु छन् ।