सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई सूचीकृत हुन भन्दै सूचना निकालेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको म्याद सकिएपछि दर्ताका निम्ति अब फेरि कुनै सूचना प्रकाशित नगर्ने भइरहेको छ। मन्त्रालयले दिएको एकमहिने म्याद सकिनै लाग्दा नेपालमा उल्लेख्य सङ्ख्यामा प्रयोगकर्ता भएका फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालको भविष्य के हुने भन्ने चासो व्यक्त भइरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ७ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सूचीकृत नभएका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई एक महिनाभित्र अर्थात्‌ वैशाख ७ गतेसम्म दर्ता हुन समय दिएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार नेपालमा हालसम्म भाइबर, टिकटक र वीटक मात्र दर्ता भएका छन्। विगत केही महिनाको अवधिमा एक्स अनि फेसबुक, ह्वाट्स्याप तथा इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटालाई दुईदुई पटक पत्राचार गरिए पनि कुनै जवाफ मन्त्रालयले पाएको छैन।

विभागीय मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले तोकिएको म्यादभित्र सामाजिक सञ्जाल प्ल्याट्फर्महरू सूचीकृत हुन नआए बन्द गरिने चेतावनी दिँदै आएका छन्।  “सञ्चार मन्त्रालयअन्तर्गत दर्ता भइदिएर नियमनमा सघाइदिनूस् भन्ने हाम्रो आग्रह हो तर अहिलेसम्म हाम्रो प्रयासको प्रतिफल आउन सकिरहेको छैन,” बीबीसी न्यूज नेपालीसँग ठाकुरले भने। “हाम्रा ऐन तथा कानुनसँग बाँझिने कुरामा गरिने अनुसन्धानमा उहाँहरूले सघाइदिने, ऐन तथा कानुनविपरीतका सामग्री हटाएर सघाइदिने हो। हामीले चाहेको त्यति हो।” “अहिले सामाजिक सञ्जालको प्रयोग गरेर धेरै मिथ्या समाचारहरू शेअर भइरहेको समस्या नेपालमा मात्र नभई संसारभरि छ। त्यसलाई नियमन कसरी गर्ने भन्ने मुख्य चासो हो,”

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *