शनिवार ललितपुरमा एउटा टहरोको छानामा उद्धारको पर्खाइमा रहेका बेला खोलाले बगाएका पाँच जनामध्ये दुई जनालाई बचाउने काभ्रे तिमालका चनिकलाल तामाङ।  ललितपुरको नक्खु खोलामा आएको बाढीले शनिवार बिहान बगाएका दुई जनालाई बचाउने काभ्रेको तिमालका ३६ वर्षे चनिकलाल तामाङको अहिले धेरैले प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा व्यापक चर्चा पाएका उनलाई कतिपय व्यक्ति तथा नेताहरूले भेट्न बोलाउने र सम्मान गर्ने गरिरहेका छन्। तामाङले शनिवार सामाजिक सञ्जालमा ‘भाइरल’ भएको एउटा भिडिओमा एउटा टहरोको जस्तापाताको छानामा बसेर उद्धारको पर्खाइमा रहेका बेला बगाएका पाँचमध्ये दुई जनालाई बचाएका थिए। मानिसहरूले हेर्दाहेर्दै बगाएका मध्ये दुई जनालाई करिब ५०० मिटर बगेपछि तामाङले खोलामा पसेर बचाएको प्रत्यक्षदर्शीले पुष्टि गरेका छन्।

म ललितपुर महानगरपालिका वडा नम्बर-२५ स्थित सोही क्षेत्रमा विगत पाँच महिनादेखि कोठा भाडामा लिएर बस्दै आएको छु। म घरमा रङ लगाउने काम गर्छु। त्यहाँ म, श्रीमती र छोरी बस्छौँ। शनिवार पानी परेकाले मेरो काम रोकिएको थियो। ‘खोलामा बाढी आएको छ’ भन्ने सुनेर म पनि खोला हेर्न गएँ। कति बजेको थियो थाहा भएन। मैले घडी हेरिनँ। खोलामा पुग्दा त्यो त बेपत्ताको ठूलो भएर आएको रहेछ। अरू मान्छेसँगै किनारामा बसेर खोला हेर्न थालेँ। हेर्दाहेर्दै त्यहाँ त अलि माथिबाट मान्छेहरू बगाउँदै ल्याएको देखेँ। त्यो बगाएर ल्याएको मान्छेले हातले इसारा गर्‍यो। मलाई खोलामा पसेर मान्छे निकालौँ जस्तो लाग्यो। मेरो बूढी पनि साथमै थिइन्। उनले मलाई डरले “नजानू” भन्दै थिइन्। म खोलामा पसिहालेँ। खोलामा पसेपछि मैले पौडी खेलेर बग्दै आएका एउटा बच्चा र एउटा ठूलो मान्छेलाई निकालेँ।  त्यो नानी देखेपछि मलाई ‘निकाली हालौँ’ जस्तो लाग्यो। मेरी छोरी पनि त्यो बगाएर बिरामी भएको नानी जस्तै सानी छ। मेरी छोरी अहिले ६ वर्षकी भइन्।

मानिसहरू टहरोमा बसेको बेलामा बगेका हुन् भन्ने मलाई थाहा थिएन।  पाँच सय मिटरमाथिबाट बगेको भन्ने पनि थाहा भएन। पहिले मलाई कसरी बगेर आएको हो भन्ने थाहै थिएन। मनमा ‘मान्छेका नाताले पनि बचाउनु पर्छ’ भन्ने लाग्यो। आफैँ ‘बग्छु जस्तो’ नलागेको होइन तर ‘बगेको मान्छेलाई बचाउनै पर्छ’ भन्ने लाग्यो। अन्तिममा मान्छेलाई बचाउन पाउनु नै मेरो खुसीको कुरा हो। आज (आइतवार) प्रचण्डले भेटेर सम्मान गर्नुभयो। खुसी लाग्यो। उहाँले पनि ‘कसरी बचाउनु भयो’ भनेर सोध्नुभयो। मैले जे गरेँ त्यो भने। म जस्तो सानो मान्छेलाई पनि उहाँजस्तो ठूलो मान्छेले खोज्नु भयो। खुसी लाग्यो। अहिले धेरैले ‘कसरी बचाएको’ भनेर सोध्छन् तर मैले खोलामा पस्ने बेलामा त्यस्तो धेरै सोचेकै थिएन।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *