डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएका छन्। ‘ब्याटलग्राउन्ड स्टेट्स’ भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले आफूलाई शासन गर्नका लागि “अभूतपूर्व र बलियो म्यान्डेट” प्राप्त भएको बताएका छन्।

यदि कङ्ग्रेस पूर्णतया रिपब्लिकन नियन्त्रणमा आएमा नयाँ राष्ट्रपतिलाई विगत चार वर्षमा डेमोक्र्याटिक शासनअन्तर्गत लागु गरिएका थुप्रै कार्यक्रमहरूलाई उल्टाउने र तिनका बदलामा कन्जरभेटिभ कानुनहरू लागु गर्ने मौका प्राप्त हुने छ। तिनमा कर नीति, सरकारी खर्च र व्यापार तथा आप्रवाससम्बन्धी मुद्दाहरू पर्दछन्। त्यसो भएमा उनलाई अमेरिकी सरकारमा दिगो छाप छाड्ने मौका पनि मिल्ने छ। उनको विजय एक त्यस्तो व्यक्तिको उल्लेखनीय पुनरागमन हो जो सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनाका माझ राष्ट्रपतिको पदबाट बिदा भएका थिए र उनको प्रतिष्ठा छियाछिया भएको थियो।

डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूले गरेका चर्को आलोचनापछि  चार वर्ष लामो राजनीतिक पुनरागमनको यात्राले अन्तत: उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्‍याउने भएको छ। यस क्रममा उनीविरुद्ध सङ्घीय र राज्यका अदालतहरूमा मुद्दाहरू दायर भए। उनलाई कतिपय फौजदारी अभियोगहरूमा दोषी ठहर गरियो। एउटा यौन हमलासँग सम्बन्धित मुद्दामा पनि उनलाई एउटा देवानी अदालतले जिम्मेवार ठहर गरेको थियो। अर्को अदालतले उनको व्यापार साम्राज्यमाथि ठूलो जरिवाना पनि लगायो। यी सबैका माझ उनले राजनीतिक उद्देश्यको यात्रालाई रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी हासिल गर्ने बिन्दुसम्म पुर्याएका थिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *