३ मंसिर, काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।