पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहरहरूमा नियमित उडान गर्नेबारे फेरि एक पटक चर्चा भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी भएको दुई देशको संयुक्त विज्ञप्तिमा ती विमानस्थललाई चिनियाँ सहरहरूसँग जोड्ने विषय समावेश भएपछि त्यसबारे फेरि चर्चा सुरु भएको हो। यद्यपि निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अहिले केही वायुसेवा कम्पनीहरूले नियमित उडान गरिरहेका छन्।  चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा विमानस्थलबाट नियमित उडानका लागि बेइजिङका अधिकारी “सकारात्मक भएको” बताउँदै आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले “अबको केही समयपछि नै पोखराबाट केही चिनियाँ सहरहरूमा नियमित उडानका लागि पहल जारी रहेको” बताए।

नेपाली अधिकारीहरू विशेष गरी पोखराबाट चिनियाँ सहरहरूलाई जोड्ने गरी नियमित उडान सुरु गर्नका लागि सहजीकरण गरिदिन चिनियाँ पक्षलाई बारम्बार आग्रह गरिएको बताउँछन्। चिनियाँ पक्षले पनि “सकारात्मक जबाफ दिएको” उनीहरूको भनाइ छ। यद्यपि नियमित उडानहरू नहुँदा धेरैले अधिकारीहरूका ती भनाइलाई विश्वसनीय मान्न छाडेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पनि त्यसबारे कुराकानी गरेको बताइएको छ। मङ्गलवार जारी भएको संयुक्त विज्ञप्तिमा “दुवै पक्षले नेपाल र चीनबीच नागरिक उड्डययन क्षेत्रमा विकास भएको साझेदारीलाई महत्त्व दिने” उल्लेख गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *