सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मामिलामा विभिन्न पाँच जिल्लामा आरोप खेपेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले बीबीसीसँग भने, “म्याद थपबाहेक लामिछानेको आवश्यक स्वास्थ्योपचार गर्न र त्यसको प्रतिवेदन बुझाउन, उनको मानव अधिकार हनन हुने कुनै काम नगर्न-नगराउन समेत आदेश भएको छ।” राजधानीबाट पक्राउ गरेर कास्कीको पोखरा लगिएयता ५६ दिनदेखि लामिछाने प्रहरी हिरासतमा छन्। यससमेत उनको सातौँ पटक म्याद थपिएको हो।
केकस्ता विषयमा मुद्दा चलाउने भन्नेबारे अभियोग दर्ता हुने बेलामा मात्र भन्न सकिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर ओलियाले बताए। त्यससँगै हामीले अनुसन्धान प्रतिवेदन तयार पारेर जिल्ला सरकारी वकिल कार्यालय पठाउँछौँ, “त्यसका आधारमा केके विषयमा मुद्दा चलाउने वा नचलाउनेबारे वहाँहरू निर्णय गर्नुहुन्छ।” भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग कास्की, रूपन्देही, चितवन, काठमाण्डू र पर्सामा बयान लिइएको छ। नेपाल प्रहरीका अनुसार कास्कीमा लामिछानेको “लगभग अनुसन्धान सकिएको” छ र त्यसबारे प्रतिवेदन तयार हुने क्रममा छ। अन्य जिल्लाका प्रहरी चाहिँ कास्की प्रहरीले अभियोजन प्रक्रिया अघि बढाएपछि मात्र आफूहरू उक्त प्रक्रियामा जाने मनस्थितिमा रहेको बुझिएको छ। सङ्गठित अपराधको लागि समेत अनुसन्धान भइराखेकाले ९० दिनसम्म नियन्त्रणमा लिन पाइने कानुनी व्यवस्था छ।