राजधानी काठमाण्डूसहित देशका कैयौँ भागहरूमा आइतवारदेखि हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी तराईका कैयौँ क्षेत्रमा बाक्लो हुस्सु लाग्दा हवाई उडानहरूसमेत प्रभावित भएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो लागेसँगै चिसो बढेकाले सावधानी अपनाउन सार्वजनिक रूपमै आग्रह गरेको छ। विभागका अनुसार अझै केही दिन नेपालमा यस्तै अवस्था रहने पूर्वानुमान छ। सोमवारदेखि देशका विभिन्न भागमा हिमपात तथा सामान्य वर्षाको सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार आइतवार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशका विभिन्न भागमा हुस्सु र कुहिरो लागेका कारण आइतवार अधिकांश नियमित आन्तरिक उडानहरू प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतवार बिहानदेखि काठमाण्डूबाट पोखरा, भद्रपुर, भरतपुर र सुर्खेतबाहेकका क्षेत्रमा उडान हुन सकेको छैन। “तराईमा बाग्लो हुस्सु लागेकाले उडानहरू प्रभावित भएका हुन्छन्। विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीजस्ता तराईका विमानस्थलमा बाक्लो हुस्सु लागेको छ।
महाशाखाले आइतवार बिहान जारी गरेको बुलेटिनमा भनेको छ, “हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।” उक्त महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार सोमवारदेखि भने नेपालमा पश्चिमी न्यून चापीय प्रणाली विकास हुने सम्भावना देखिएको छ। “त्यसले उच्च पहाडी भागहरूमा हिमपात र अन्य क्षेत्रमा केही वर्षा पनि गराउने सम्भावना हुन्छ महाशाखाले आफ्नो बुलेटिनमा पनि बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाएको छ।