अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण वायुको गुणस्तर निकै खराब भएको चेतावनी जारी गरेको छ। जसका कारण जनस्वास्थ्यमा तत्काल देखिने देखि र दिगो जोखिम हुनसक्ने चेतावनीमा उल्लेख छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेपछि लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। सहरमा परेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुर्‍याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएका छन्।

प्रशासनले धुलो उडाउने कुनै पनि उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ। अत्यधिक खरानी र धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा रहेका मानिसहरू, बालबालिका र वृद्धवृद्धालाई समस्या हुनसक्ने भन्दै सजग गराइएको छ।  प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ। धुवाँ फैलिएका क्षेत्रमा घर बाहिर निस्कँदा मास्क लगाउन पनि प्रशासनले निर्देशन दिएको छ।

सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। ती सबै क्षेत्रका मानिसहरूलाई उद्धारका लागि निर्देशन दिइएको छ। प्रहरीले मानिसहरू नभएका घरहरूमा कुनै पनि किसिमको आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ। मानव रहित बस्तीहरूबाट कम्तीमा १२ जना सन्दिग्ध लुटेराहरूलाई पक्राउ गरिएको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले केही अग्निनियन्त्रकले पानी अभाव झेलिररहेको अवस्थाको स्वतन्त्र समीक्षा गर्न आदेश दिएका छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *