काठमाडौं, २ फागुन – प्रतिष्ठित ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट गीतकार बी. पाण्डे सम्मानित भएका छन् । राजधानीको राष्ट्रपति भवन, महाराजगंजमा आयोजित ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम-२०८०’मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

आयोजकका अनुसार नेपाली गीत–संगीत क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरूप गीतकार पाण्डेलाई यो पुरस्कार प्रदान गरिएको हो । पाण्डेसँगै गायक हिमाल सागर, गायिका बिन्दु परियार, संगीतकार आशिष अविरल र एरेन्जर सम्राट थापा यसै श्रेणीबाट पुरस्कृत भएका छन् ।

कार्यक्रमको आयोजक नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले सम्मान र पुरस्कारको महत्वबारे प्रकाश पार्दै, नेपाली कलाकारहरूको प्रतिभा राष्ट्रियस्तरमा मूल्याङ्कन गर्ने उद्देश्य रहेको बताए । कार्यक्रममा लोक तथा शास्त्रीय संगीत, कला पत्रकारिता र संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न विधाका ३० भन्दा बढी व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ लोकगायक बमबहादुर कार्की, प्रस्तोता धन लामा, गीतकार बुद्धवीर लामालगायत ८ जना स्रष्टाहरूलाई प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले कार्यक्रममा सम्बोधन गर्दै, नातिकाजीको योगदानलाई सम्मान गर्दै सरकारले औपचारिकरूपमा राष्ट्रिय संगीत पुरस्कारको घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले सबै पुरस्कृत व्यक्तिहरूलाई शुभकामना दिँदै नातिकाजीको सांगीतिक धरोहरलाई निरन्तर प्रवर्द्धन गर्न आग्रह गरेका थिए ।

गीतकार बी. पाण्डे दशकौँदेखि नेपाली गीत–संगीत क्षेत्रमा सृजनशील गीत रच्दै आएका एक चर्चित स्रष्टा हुन् । उनको यस सम्मानले नेपाली सांगीतिक क्षेत्रलाई अझ समृद्ध बनाउने विश्वास गरिएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *