अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन्। अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए। उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ। झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पृथ्वी फर्किए। नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन्। बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए। त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए?
अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए। उनन्सट्ठी वर्षीया सुनी र बैसट्ठी वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू समेत गरे। ज्यानुअरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन्। त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए। उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स-रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए।