नेपाल प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमवार राति करिब ११ बजेतिर टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट एउटा ट्रकलाई नियन्त्रणमा लिइएको जनाएको छ। सोमवार राति काठमाण्डूको टोखाबाट एक नेपाली नागरिकलाई “ट्रकमा लुकाएर” ठूलो मात्रामा विदेशी मुद्रा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अमेरिकी डलर र यूरो गरी २५ करोड नेपाली रुपैयाँभन्दा बढी हुने रकम चीनको सीमातर्फ लग्न खोजेको प्रहरीको आशङ्का छ। प्रहरीले त्यसबारे अनुसन्धान जारी छ। उक्त घटनापछि नेपालमा बेलाबेलामा अवैध रूपमा ओसारपसार गर्न लागिएको सुन र विदेशी मुद्रा ठूलो परिमाणमा बरामद हुने गरेको विषयबारे चर्चा हुन थालेको छ। गत फागुन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ब्यागेज चेकिङ’ क्षेत्रबाट पनि “अवैध रूपमा लैजान खोजिएको” अमेरिकी डलर तथा जापानी येनसहित एक चिनियाँ र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो। ती चिनियाँ नागरिकको साथबाट १० लाख ४२ हजार जापानी येन र ५८० अमेरिकी डलर एवं नेपाली नागरिकको साथबाट ७,५०० अमेरिकी डलर प्रहरीले फेला पारेको थियो।गत फागुन ३ गते पनि एक अमेरिकी महिला त्रिभुवन विमानस्थलबाटै “अवैध रूपमा लैजान खोजेको विदेशी मुद्रा”सहित पक्राउ परेकी थिइन्। काठमाण्डूबाट मलेशिया जान लागेकी उनको साथबाट १२,७४८ डलर, २४९ सिङ्गापुर डलर, १२,००० इन्डोनेशियाली रुपैयाँ फेला परेको थियो।
राजधानी काठमाण्डूभित्र भएका यी घटनाले “अवैध रूपमा विदेशी मुद्राको ओसारपसारका लागि नेपाललाई” बाटो बनाइने गरेको सङ्केत पाइएको प्रहरीलेको दाबी छ। विदेशी मुद्रा ओसारपसारका पछिल्ला गतिविधिहरू हेर्दा त्यो “सुन तस्करीसँग जोडिएको हुन सक्ने” कतिपय जानकारको भनाइ छ। अनुसन्धानका क्रममा विदेशी मुद्रा ओसारपसार सुन तस्करीसँग जोडिएका कैयौँ घटनाहरू बाहिर आएको बताउँछन्। एक भूतपूर्व प्रहरी अधिकारीले यस्ता गतिविधि न्यूनीकरणका लागि “राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुनुपर्ने र तस्करी रोक्न पर्याप्त लगानी र कानुनी सुधार गर्नुपर्ने” बताएका छन्। काठमाण्डूबाट रसुवागढीतर्फ जाँदै गरेको उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यसमा ठूलो मात्रामा विदेशी मुद्रा भेटिएको थियो। ट्रकको ड्राइभर बस्ने क्याबिनको बायाँतर्फको माथिल्लो भागमा ‘फल्स बटम’ बनाएर लुकाएर लैजाँदै गरेको अमेरिकी डलर र यूरोसहित ठूलो परिमाणमा रकम फेला परेको थियो।ट्रकचालकलाई भन्सार तथा राजस्व छली गरेर अवैध मुद्रा कारोबार गरेको आरोपमा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।