पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।
भारत-पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ । ताजमहल क्षेत्रमा विशेष जाँच अभियान चलाइएको छ । वाच टावरहरू निरन्तर निगरानीमा छन्, फिल्ड युनिटहरू सक्रिय छन्, र बुलेटप्रुफ युनिट पनि परिचालनमा छन् । ताजमहल आउने–जाने प्रत्येक व्यक्तिमाथि निगरानी राखिएको छ । वरपरका होटलहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।