गत शुक्रवार पछिल्लो द्वन्द्व सुरु भएयता इजरेल र इरानले एकअर्काविरुद्ध आक्रमण जारी राखेका छन्। दुवैतर्फबाट आक्रोशपूर्ण अभिव्यक्ति आइरहेका छन्। अर्कोतर्फ इरानका परमाणु केन्द्रहरूमाथि इजरेलले गर्ने आक्रमणमा अमेरिका संलग्न हुनेबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विचार गरिरहेका बताइएको छ। इरानका परमाणु केन्द्रहरू र सैनिक स्थलहरूमा इजरेलले आक्रमण गरेपछि पछिल्लो द्वन्द्व सुरु भएको हो। त्यसपछि हवाई आक्रमण गर्दै इरानले प्रत्याक्रमण थाल्यो। इजरेली हमलाहरूमा अहिलेसम्म २०० जनाभन्दा बढी व्यक्ति मारिएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इरानी आक्रमणमा २४ जना मारिएका इजरेलले बताएको छ। त्यसको केही घण्टापछि स्थानीय समयअनुसार शुक्रवार बिहान साढे तीन बजेतिर तेहरानका आवासीयसहितका क्षेत्रमा आक्रमणको पहिलो वर्षा भएको इरानको सरकारी टेलिभिजनले जनायो।
सरकारी प्रतिबन्धका कारण बीबीसीका पत्रकारहरू इरानबाट रिपोर्टिङ गर्न असक्षम भएका कारण इजरेली आक्रमणबाट परेका क्षतिको आकलन गर्न गाह्रो छ। इजरेल डिफेन्स फोर्सेसका अनुसार तेहरानदेखि २२५ किलोमिटर दक्षिणमा पर्ने नतान्ज परमाणु केन्द्रलाई निसाना बनाएर त्यसमा उल्लेख्य क्षति पुर्याइएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ‘अपरेशन राइजिङ लायन’ नाम दिएको हमलाले इरानको परमाणु कार्यक्रमको “मुटु”लाई निसाना बनाइएको बताएका छन्। “यदि रोकिएन भने इरानले एकदम छोटो समयभित्र एउटा परमाणु अस्त्र बनाउन सक्छ,” नेतन्याहूले दाबी गरे। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ।