टोखा, काठमाडौं – काठमाडौं उपत्यकाको महत्वपूर्ण नदीमध्ये एक बिष्णुमति खोलाको संरक्षण र पुनर्जीवनको उद्देश्यले सुरु गरिएको टोखा बिष्णुमति खोला सरसफाई अभियान शनिबार आफ्नो ६६ औं हप्तामा प्रवेश गरी सफलतापूर्वक सम्पन्न भएको छ। टोखा नगरपालिकाको पहलमा निरन्तर सञ्चालन हुँदै आएको यस अभियानमा यसपटक पनि नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, पत्रकार, स्थानीयवासी, विद्यार्थी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भएका थिए।
अभियानका क्रममा बिष्णुमति किनारमा थुप्रिएको प्लास्टिक, घरेलु फोहर, निर्माणजन्य अवशेष लगायतको फोहर व्यवस्थापन गरियो। सरसफाइसँगै सहभागीहरूले वातावरण संरक्षणका लागि नदीलाई फोहरमुक्त राख्ने, फोहर नफाल्ने र सचेतना जगाउने सन्देशसमेत दिए। कार्यक्रममा बोल्दै टोखा नगर प्रमुखले निरन्तर सरसफाई अभियानले बिष्णुमति खोलाको रूप–रङ्ग फिर्ता ल्याउन ठूलो योगदान दिएको बताए। उनले यसलाई अझ सशक्त बनाउन नगरपालिका तर्फबाट दीर्घकालीन योजना बनाइने जानकारीसमेत दिए। त्यसैगरी उप–प्रमुखले नदी सरसफाइलाई केवल एकदिनको कार्यक्रम नभई जीवनशैलीको हिस्सा बनाउन आवश्यक रहेको भन्दै सबै नागरिकलाई निरन्तर साथ दिन आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाले आगामी दिनमा प्रविधिमैत्री व्यवस्थापन प्रणालीमार्फत नदी सरसफाइलाई दिगो बनाउन योजनाबद्ध ढंगले काम गर्ने बताए। ६६ औं हप्तासम्म आइपुग्दा यस अभियानले स्थानीयलाई मात्र होइन, विभिन्न संघ–संस्था, मिडिया र विद्यार्थीलाई समेत सक्रिय बनाएको छ। स्थानीय बासिन्दाले नदी सफा गर्ने कामले टोखाको सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्वलाई अझ मजबुत बनाइरहेको विश्वास व्यक्त गरेका छन्। अभियानलाई अझ प्रभावकारी बनाउन आगामी हप्ताहरूमा बृक्षारोपण, सचेतना कार्यक्रम र फोहर व्यवस्थापन तालिमसमेत संचालन गरिने आयोजकहरूले जनाएका छन्।
