देशको कानुनी धड्कन र मेरा पहिलो सासहरू एउटै तालमा भेटिएका छन्।
खुसी मनाउनुपर्ने क्षण हो यो,
तर सडकहरूमा धुवाँ छ,
भवनहरू खण्डहर,
नागरिकका मुटुहरू आक्रोशले काँपिरहेका छन्।
उत्सवको घण्टी होइन,
विद्रोहको हुंकारले आकाश भरिएको छ।
यस्तै विषम समयले सिकाएको छ—
जन्मदिनको केक भन्दा
समाधानको बाटो मिठासिलो हुन्छ;
फुलमाला भन्दा
पुनर्निर्माणको सपना बहुमूल्य हुन्छ।
त्यसैले आज म जन्मोत्सव होइन,
समाधान दिवस मनाउन प्रतिज्ञा गर्दछु।
आमा—
तपाईँको गर्भको अन्धकारमै
मैले जीवनको पहिलो उज्यालो देखेँ,
हजुरको आँचलमा पलाएको दूध
आजसम्म मेरो शक्ति बनेर बगिरहेको छ।
बुबा—
हजुरको काँधको पसिना र दुखाइले
मेरो भविष्यको बाटो बिछ्याएको छ।
त्यसैले आज आमा बुवा दुवै जनालाई
हार्दिक बधाई र कृतज्ञताको फूल अर्पण गर्दछु।
देश गम्भीर छ—
तर निराशाको भित्तामा आशाको रंग भरिदिन सकिन्छ।
संविधानका पानामा न्याय टास्न सकिन्छ।
मेरा जन्मका पलहरू
अब व्यक्तिगत उत्सव होइनन्,
माटोको पुनर्जन्ममा समर्पित संकल्प हुन्।
