निर्वाचन आयोगले फागुन अन्तिम साताका लागि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्यतालिका सोमवार सार्वजनिक गरेको छ।
आयोगको कार्यतालिकामा आसन्न प्रतिनिधिसभा चुनावका विभिन्न गतिविधिहरू समाविष्ट छन्। जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलकारीको मागबमोजिम प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेकी थिइन्। संसद् विघटन भएपछि त्यसैअनुरूप फागुन २१ गते निर्वाचनको मिति तय भएको हो। कार्यतालिका अनुसार मङ्सिर १ गतेदखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गराउने समय तोकिएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ। फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न दिइने आयोगको कार्यतालिका छ। त्यसपछि प्रचारप्रसार गर्न पाइने छैन। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ। मतपेटिका सङ्कलन गरिएपछि सोही दिनबाट मतगणना गर्ने आयोगको कार्यक्रम छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम तोकिएको छ। निर्वाचनमा भाग लिन चाहने पक्षहरूले कार्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ।
अध्यादेशमार्फत् ऐनमा संशोधन गरिएपछि निर्वाचन आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ। चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको हो। कार्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ। उसका अनुसार विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिने अधिकारहरू बताउँछन्। निर्वाचन आयोगको वेबसाइटमामा आवेदन भरी प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। मतदान सामग्री व्यवस्थापन मार्गदर्शन २०७८ अनुसार निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रहरूमा विभिन्न ६२ थरीका सामान पुर्याउनुपर्ने हुन्छ। त्यसभित्र मतदाता नामावली, मतपेटिका, मतपत्र, सियो, मसी लगायतका सामानहरू पर्छन्। निर्वाचन आयोगका अधिकारीहरूले बताएअनुसार आउँदो चुनावका लागि आवश्यक पर्ने मतपेटिका अहिले आयोगसँग उपलब्ध छ। अधिकारीहरूका अनुसार निर्वाचन आयोगसँग ४३ लिटर, ८० लिटर र ८५ लिटर क्षमताका मतपेटिका रहेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ मतदान गर्न फरकफरक मतपेटिकाको व्यवस्था गरिँदै आएको छ। विगतमा नेपालले चीन, जापानलगायत देशबाट मतपेटिका खरिद गरेको इतिहास छ।
