दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेमा हरियो मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो। सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको थियो। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँघुरिएको छ भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।
दशैँ तिहार बिचका कारोबार दिनहरुमा शेयरबजार प्रायः सुस्त हुने गरेको विगतमा हामी देख्न सक्छौँ। लगानीकर्ताहरु फेस्टिभ मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार देखिदैन। दशैँ अघि नेप्से परिसूचक टेवा क्षेत्र नजिक बन्द भएको थियो। हाल नेप्सेको टेवा क्षेत्र २५८० देखि २६१० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
दशैँ अघिका अन्तिम कारोबार दिनहरुमा नेप्सेको भोल्यूम कमजोर देखिएको थियो। दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब १५ करोड रहेको थियो। दशैँ अघिका ४ कारोबार दिनमा नेप्सेमो भोल्यूम २० दिने औषत भोल्यूमभन्दा कम रहेको थियो। दशैँ अघि नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको थियो। सो दिन नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको थियो। साथै, यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ। दशैँ अघि नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।
