टी२० विश्वकप २०२६ का लागि एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको एक मात्र अपराजित टोलीका रूपमा नेपाल क्षेत्रीय छनोटको च्याम्पिअन बनेको छ। विश्वकप छनोट विजेताको प्रबल दाबेदारका रूपमा हेरिएको नेपालले सोचेअनुरूपकै खेल पस्किन सफल भयो र उपाधिको ताज पहिरिने दृष्टिकोणले महत्त्वपूर्ण रहेको अन्तिम दिनको खेलमा समोआलाई १२४ रनको ठूलो अन्तरले सहजै पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालले पूरा इनिङ्स खेलेर चार विकेटको क्षतिमा २११ रन बनायो। जारी प्रतियोगितामा नेपालले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। लक्ष्यअनुरूप नै नेपालले समूह चरण र ‘सूपर सिक्स’मा गरी खेलेको छ वटै खेल जित्न सफल भयो। यद्यपि युएई, कतार र कुवेतविरुद्धको खेल जित्न नेपाललाई हम्मेहम्मे परेको थियो। अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी२० विश्वकपमा छानिएको नेपालको यो लगातार दोस्रो विश्वकप तथा समग्रमा तेस्रो विश्वकप सहभागिता हो।

समोआले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएपछि दबावरहित खेलमा नेपाली ब्याटरहरूले खुलेर ब्याट घुमाउन थालेका थिए। पहिलो विकेटको लागि कुशल भुर्तेल र आशिफ शेखले ६३ रनको साझेदारी गरे। भुर्तेल आउट भएपछि शेख र दीपेन्द्रसिंह ऐरी दुवैले अर्धशतकीय पारी खेले। आशिफले ४१ बलमा ६९ तथा दीपेन्द्रले ३३ बलमा ५३ रन बनाए। लोकेश बमले १२ बलमा ३९ रनको आक्रामक पारी खेलेपछि नेपालले यसपालिको छनोट प्रतियोगितामा पहिलो पटक २०० भन्दा बढी रनको आँकडा पार गरेको थियो। लोकेशले चार छक्का र दुई चौका प्रहार गरे। कप्तान रोहित पौडेलले २१ रन बनाए। नेपाली बलिङ कसिकसाउ थियो। त्यसका कारण समोआका खेलाडीहरू सुरुदेखि नै बाँधिन पुगे। पहिलो पटक खेलिरहेका करण केसीले डारियस भिसेरलाई एलबीडब्ल्यूको धरापमा पारे। ललित राजवंशीले बेन्जामिन मैलाटालाई कट एन्ड बोल्ड तथा सोलोमन नासलाई बोल्ड गरेपछि समोआले ‘पावरप्ले’मा तीन विकेट गुमाइसकेको थियो। सन्दीप लामिछानेले र कप्तान रोहित पौडेलले पनि एकएक विकेट लिए।

Similar Posts