टोखा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सामुदायिक बिध्यालयहरुमा कार्यरत बिद्यालय स्वास्थ्य नर्स र ११ वटै वडामा कार्यरत क्षयरोग स्वयंसेवकहरुलाई क्षयरोग (Tuberculosis) सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अभिमुखीकरण सम्पन्न भएको छ। उक्त कार्यक्रम टोखा नगरपालिकाभित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत बालबालिकामा क्षयरोगबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।
कार्यक्रम विद्यालय स्वास्थ्य नर्स तथा क्षयरोग स्वयंसेवकमार्फत विद्यालयस्तरमा क्षयरोगको परिचय,प्रक्रार,लक्षण, सर्ने माध्यम, जोखिम समूह ,रोकथाम तथा नगरपालिकाबाट प्रदान भइरहेका निःशुल्क उपचार सेवासम्बन्धी जानकारी गरिनेछ। कार्यक्रमलाई प्रभावकारी र सहभागितामूलक बनाउन Brainstorming session , “मिथ वा तथ्य” (Myth or Fact) सत्र, प्रश्नोत्तर(Quiz), साथै सहभागीहरूको प्रतिक्रिया सङ्कलन गर्ने Feedback Session समावेश गरिएको छ। यस्ता अन्तर्क्रियात्मक विधिहरूले बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सिकाइ प्रक्रियालाई व्यवहारिक र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ। बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस कार्यक्रमको प्रमुख उद्देश्य क्षयरोगबारे प्रारम्भिक सचेतना विकास गर्नु, रोगप्रति रहेको भ्रम तथा गलत धारणालाई न्यूनीकरण गर्नु र समयमै स्वास्थ्य संस्थामा सेवा लिन प्रेरित गर्नु रहेको छ।
विद्यालयमार्फत स्वास्थ्य शिक्षा प्रदान गर्दा रोगको प्रारम्भिक पहिचान, समुदायमा सूचना प्रवाह तथा दीर्घकालीन रूपमा क्षयरोग नियन्त्रणमा प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले बालबालिकामार्फत परिवार र समुदायसम्म स्वास्थ्य सन्देश प्रवाह भई समग्र सार्वजनिक स्वास्थ्य सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Similar Posts