काठमाडौँ । काठमाडौँ महानगरसँग जोडिएको टोखा नगरपालिकामा कवाडी ९फोहोर संकलन तथा पुनःप्रयोग सामग्री० क्षेत्रमा बालश्रमको समस्या गम्भीर बन्दै गएको छ। विद्यालय जानुपर्ने उमेरका बालबालिका जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य हुँदा उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र भविष्य खतरामा परेको सरोकारवालाहरूले बताएका छन्।

टोखा नगरपालिका– ५,६, ७ ,८ र ९ का केही स्थानमा सञ्चालनमा रहेका कवाडी संकलन केन्द्र र अस्थायी गोदामहरूमा १० देखि १६ वर्ष उमेर समूहका बालबालिका प्लास्टिक, फलाम, कागज, सिसा जस्ता फोहोर सामग्री छान्ने तथा बोकेर ल्याउने काममा संलग्न देखिन्छन्। ती बालबालिकालाई न्यून पारिश्रमिक दिएर लामो समयसम्म काम गराइने गरेको स्थानीयवासीको गुनासो छ।

जोखिमपूर्ण काम, अस्वस्थ वातावरण र सुरक्षाका न्यूनतम मापदण्डसमेत नअपनाइँदा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ। कवाडी क्षेत्रमा धारिला वस्तु, सिसाका टुक्रा, रासायनिक फोहोर र दुर्गन्धबीच काम गर्नुपर्दा बालबालिकामा चोटपटक, छाला रोग, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

बालअधिकारकर्मीहरूका अनुसार गरिबी, पारिवारिक समस्याका साथै अभिभावकको चेतनाको कमीले बालबालिका श्रममा धकेलिएका हुन्। “बालश्रम कानुनतः अपराध हो, तर स्थानीय तहको कमजोर अनुगमनका कारण यो खुलेआम भइरहेको छ,” एक बालअधिकार अभियन्ताले भने।

नेपालको प्रचलित कानुनअनुसार १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन पूर्ण रूपमा प्रतिबन्ध छ भने जोखिमपूर्ण काममा १८ वर्ष मुनिका व्यक्तिलाई संलग्न गराउन पाइँदैन। तर टोखा नगरपालिकामा यो कानुनी व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको देखिन्छ।

टोखा नगरपालिकाका एक अधिकारीले बालश्रमको विषय गम्भीर रहेको स्वीकार गर्दै अनुगमन र नियन्त्रणका लागि योजना बनाइरहेको बताए। “हामीले वडा तहसँग समन्वय गरेर कवाडी क्षेत्रको अनुगमन गर्ने, बालबालिकालाई उद्धार गरी विद्यालय वा पुनर्स्थापना केन्द्रसँग जोड्ने तयारी गरिरहेका छौं,” उनले भने।

स्थानीयवासी र सामाजिक संघसंस्थाले बालश्रम अन्त्यका लागि कडा अनुगमन, कवाडी व्यवसाय दर्ता र व्यवस्थापन, अभिभावकलाई लक्षित चेतनामूलक कार्यक्रम तथा जोखिममा रहेका बालबालिकाका लागि शैक्षिक तथा सामाजिक सहयोग कार्यक्रम आवश्यक रहेको बताएका छन्।

यदि समयमै ध्यान नदिइएमा टोखा नगरपालिकामा बालश्रमको समस्या अझ जटिल बन्दै जाने र बालबालिकाको भविष्य नै अन्धकारमा पर्न सक्ने चेतावनी उनीहरूको छ।

Similar Posts