जेनजीको आन्दोलनले नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई पूर्णरूपमा हल्लाइदिएको छ। लामो समयदेखि थिचिएका असन्तोष र निराशाका आवाज सडकमा निस्कँदा पुराना नेतृत्वहरू प्रश्नमा परेका छन् भने नयाँ पुस्ता सक्षम र निडर नेतृत्वको खोजीमा उत्रिएको छ। यस्तो अवस्थामा, मुलुकलाई स्थायित्व, पारदर्शिता र संस्थागत सुधारतर्फ डोर्याउन सक्ने पात्रका रूपमा कुलमान घिसिङको नाम बलियोसँग अघि सारिएको छ। उनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी प्रमुख रहँदा देखाएको नेतृत्व, कार्यशैली र परिणाम आज पनि जनताले सम्झिरहेका छन्। लोडसेडिङ अन्त्य गरेर “असम्भवलाई सम्भव” बनाएको उनकाे उदाहरणमात्र पर्याप्त छ कि, कठिन परिस्थितिमा पनि सुधार सम्भव हुन्छ।
कुलमान घिसिङलाई योग्य पात्र ठान्नुका पछाडि केही आधारहरू छन् :
-
परिणाममुखी नेतृत्व – उनका निर्णय र कामले छोटो समयमा ठोस परिणाम देखाएको छ।
-
पारदर्शिता र इमानदारी – सार्वजनिक संस्थामा नाफामुखी सोच मात्र होइन, जनताप्रतिको उत्तरदायित्व पनि उनले स्पष्ट देखाएका छन्।
-
नयाँ पुस्तासँग मेल – जेन्नी आन्दोलनले खोजेको इमानदार, कर्मशील र “भिजनयुक्त” नेतृत्व उनको व्यक्तित्वसँग मेल खान्छ।
-
राजनीतिकभन्दा बढी व्यावहारिक दृष्टिकोण – घिसिङ प्राविधिक पृष्ठभूमिबाट आएका व्यक्ति भएकाले नीतिलाई व्यवहारमै उतार्ने क्षमता राख्छन्।
जनता पुराना पार्टीहरूको झगडाभन्दा दिक्क भइसकेका छन्। नयाँ पुस्ता “काम गर्ने र देखाउने” नेतृत्व चाहन्छ। त्यस अर्थमा, आन्दोलनपछिको नेतृत्व संक्रमणमा कुलमान घिसिङ सक्षम विकल्पका रूपमा देखिएका छन्।
