मनसुन पुनः सक्रिय हुने गरी विकसित नयाँ प्रणालीका कारण नेपालका विभिन्न स्थानमा मङ्गलवारदेखि शनिवारसम्म उल्लेख्य वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। मनसुन सकिन केही साता बाँकी छँदै यो वर्ष सरदरभन्दा बढी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुनको अवधिमा सरदर १,४७९.७ मिलिमिटर वर्षा हुन्छ। विभागको तथ्याङ्कअनुसार असोज ७ गतेसम्म १५१२.१२ मिलिमिटर पानी परिसकेको छ। नेपालबाट मनसुन प्रायः अक्टोबर २ (असोज १६) मा बाहिरिन्छ। तर केही विज्ञहरूले यसपालि मनसुन केही दिनले लम्बिन सक्ने सङ्केत देखिएको बताएका छन्।  वर्ष पर्याप्त वर्षा भएका कारण राम्रो रोपाइँ भएको कृषि अधिकारीहरूले बताएका छन्। तर बाली भित्र्याउने बेला पानी पर्ने चिन्तामा सर्वसाधारण किसानमा देखिन्छ।  एक साता ढिलो गरी राजस्थानका केही स्थानबाट सोमवार मनसुन बाहिरिन थालेको छ। त्यसकै आधारमा नेपालमा पनि मनसुन बाहिरिने मिति सर्ने अर्थात् समग्र मनसुन केही दिनले लम्बिने अनुमान गरिएको हो। “भारतबाट मनसुन फर्किने क्रम सुरु भइसक्यो। पश्चिमबाट त्यस्तो क्रम सुरु भए पनि नेपालमा पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी हुँदै कोशीबाट बाहिरिने हो,” मौसमविद् विनु महर्जनले भनिन्। यद्यपि सेप्टेम्बरपछि मनसुन खासै बलियो नहुने ठानिन्छ।

मनसुन सकिएपछि प्रायः दक्षिणपश्चिम दिशामा रहेको अरब सागरमा विकसित हुने चक्रवातसँग सम्बन्धित मौसमी प्रणालीले पनि वर्षा गराउन सक्ने मौसमविद्हरू बताउँछन्। त्यस्तो वर्षा निकै ठूलो पनि हुन सक्छ। तर विगतमा मनसुन सकिएपछि एक महिनाको सेरोफेरोमा त्यस्तो प्रणालीको प्रभाव देखा पर्ने गरेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल बताउँछन्। अर्कोतर्फ सानो क्षेत्रमा वाष्पीकरणका कारण हुने वर्षा ठूलो हुँदैन र त्यसको अवधि समेत छोटो हुन्छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *