नेपाली महिला फुटबल टोलीको उपाधि उचाल्ने धोको एक पटक फेरि अधुरै रह्यो। बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो। १२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिअनसिपको ७ संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।
समग्रमा विसं २०३८ सालमा महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेलेको हिसाबमा महिला टोलीले ३८ वर्षको प्रयासमा पनि उपाधि जित्न सकेन। नेपालमा आएर बाङ्ग्लादेशले दुई वर्षको बीचमा दुवै पटक दक्षिण एसियाको च्याम्पियन बन्न सफल भयो। खचाखच भरिएको दशरथ रङ्गशालामा दर्शकले नेपाली टोलीलाई पूरा ९० मिनेट अनवरत समर्थन गरेका थिए। बाङ्ग्लादेशका खेलाडीहरूले यस्तो दबाव झेल्दै स्तरीय प्रदर्शन गरेका थिए।
साफ महिला च्याम्पिअनशिपप्रति दर्शकको सहभागिता उत्साहजनक देखियो। सेमिफाइनलमा दर्शकको उपस्थिति अभूतपूर्व थियो। त्यस्तै घुइँचो फाइनलमा पनि देखियो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आफैले भद्रकालीको सैनिक गेट तथा जावलाखेलस्थित फुटबल मैदानबाट फाइनलको टिकट बिक्री गरेको थियो। टिकटका निम्ति दर्शकहरू बुधवार बिहानैदेखि घण्टौँ लाममा बसेका थिए। टिकट खुलेको दुई घण्टाभित्रै सामान्य ‘प्यारापिट’तर्फको १० हजार र ‘भीआईपी’तर्फको १ हजार टिकट विक्री भएको थियो। सामान्य ‘प्यारापिट’तर्फ ५ सय र ‘भीआइपी’ तर्फको टिकट मूल्य १ हजार रुपैयाँ राखिएको थियो। साँझ साढे ६ बजे खेल शुरु हुने भए पनि ४ बजेदेखि नै दर्शकहरू रङ्गशाला छिर्न थालेका थिए। कतिपयले नेपालको जर्सी पहिरिएका थिए भने अनुहारमा राष्ट्रिय झन्डाको चित्र बनाएका थिए।
नेपाली महिला टोलीले खेलेका १२ फाइनल
साफ महिला च्याम्पिअनशिप
सन् २०१०ः कक्सबजार, भारत (१-०) नेपाल
सन् २०१२ः कोलम्बो, भारत (३-१) नेपाल
सन् २०१४ः इस्लामाबाद, भारत (६-०) नेपाल
सन् २०१९ः विराटनगर, भारत (३-१) नेपाल
सन् २०२२ः काठमाण्डू, बाङ्ग्लादेश (३-१) नेपाल
सन् २०२४ काठमाण्डू, बाङ्ग्लादेश (२-१) नेपाल
दक्षिण एशियाली खेलकुद – साग
सन् २०१०: ढाका,भारत (३-१) नेपाल
सन् २०१६: सिलिगुडी, भारत (४-०) नेपाल
सन् २०१९: पोखरा, भारत (२-०) नेपाल
अन्य फाइनल
सन् २०१९: भारतमा आयोजित हिरो विमिन्स गोल्डकप, म्यान्मार (३-१) नेपाल
सन् २०१९ः किर्गिस्तानमा आयोजित नादेज्दा कप, उज्बेकिस्तान (३-२) नेपाल
सन् २०२४ः साउदी अरबमा आयोजित, बिया-वाफ विमिन्स च्याम्पिअनशिप, ट्राइब्रेकरमा जोर्डन ( ५-३) नेपाल
सन् २०१९ मा नेपालले भारतमा हिरो विमिन्स गोल्डकप खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। त्यस खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन्।
तर नेपाल उक्त प्रतियोगिताको फाइनलमा म्यान्मारसँग ३–१ ले पराजित हुन पुग्यो।
सोही वर्ष सेप्टेम्बरमा नेपालले किर्गिस्तानमा गएर उज्वेकिस्तान, किर्गिस्तान र ताजकिस्तान सम्मिलित नादेज्दा कप खेलेको थियो।
राउन्ड रोबिन लीगमा शीर्ष २ भित्र रहँदै नेपाल प्रतियोगिताको फाइलनमा पुग्यो। तर उज्वेकिस्तानसँग ३–२ ले हार्दै उपाधिबाट विमुख हुनु पर्यो।
पश्चिम एशियाको फुटबल प्रतियोगिता वाफ विमिन्स च्याम्पिअनशिपको फाइनल त धेरै नेपाली समर्थकहरूको स्मरणमा ताजै छ।
यसै वर्षको फेब्रुअरीमा साउदी अरबको जेद्दाहमा भएको प्रतियोगितामा नेपाल सुन्दर खेल खेल्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर जोर्डन नेपालको तगारो बन्यो र टाइब्रेकरमा पराजित हुँदै नेपाल अर्को एक मौका गुमाउँदै घर फर्किएको थियो।