अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ। नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ। त्यो उडानका क्रममा उक्त यान केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने छ। वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा हुने छन्। त्यस्तो सङ्केत सम्भवतः यही साता शुक्रवार (डिसेम्बर २७ मा) प्राप्त हुने छ। यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकहरूको छ। “सयौँ वर्षदेखि मानिसहरूले सूर्यबारे अध्ययन गर्दै आएका छन्। उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नैपर्ने हुन्छ।
![नासाको सोलर डाइन्यामिक्स अब्जर्भेटरीले खिचेको सूर्यको तस्बिर](https://ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/5dcc/live/3d3a5590-b330-11ef-9f36-312e30430efa.jpg.webp)
तस्बिरको क्याप्शन,नासाको अन्तरिक्षयान सूर्यको बाह्य वायुमण्डलमा तीव्र गतिमा प्रवेश गर्ने छ । सौर्यमण्डलको मध्यभागतिर जाने गरी पार्कर सोलर प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो।
यो प्रोब २१ पटक सूर्यनजिक पुगिसकेको छ। तर क्रिस्मसको अघिल्लो दिन मङ्गलवार अझ निकटको बिन्दु पुगेर यसले पुराना कीर्तिमानहरू भङ्ग गर्ने वैज्ञानिकहरूको आकलन छ। निकटतम बिन्दुमा पुग्दा यो प्रोब सूर्यको सतहभन्दा ३८ लाख माइल (६२ लाख किलोमिटर)को दूरीमा हुने छ। त्यो दूरी तपाईँलाई निकै धेरै लाग्न सक्छ। निकोला फक्स त्यसलाई तुलनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने ठान्छिन्। “हामी सूर्यभन्दा ९.३ करोड माइल टाढा छौँ। यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्ने हो भने ‘पार्कर सोलर प्रोब’ सूर्यभन्दा चार सेन्टिमिटर टाढा हुन्छ। त्यसैले त्यो निकै नजिक हो,” उक्त प्रोबले १,४०० डिग्री सेल्सिअससम्मको तापक्रम र विकिरण झेल्नुपर्छ। त्यस्तो अवस्थामा त्यसभित्र रहेका विद्युतीय उपकरणहरू गल्न सक्छन्। उक्त प्रोबलाई जोगाउन ११.५ सेन्टिमिटर बाक्लो ‘कार्बन-कम्पोजिट’बाट निर्मित कवच बनाइएको छ। सूर्यको वाह्य मण्डलमा तीव्र गतिमा प्रवेश गर्ने र निस्किने रणनीतिमा यो यान छ। यो प्रोब मानवनिर्मित अन्य यान वा वस्तुभन्दा तीव्र गतिमा उड्छ। यसको गति ४.३ लाख माइल प्रतिघण्टा छ। त्यो वेगमा यात्रा गर्ने हो भने ३० सेकन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगिन्छ।
![नोर्थम्बरल्यान्डको होविकबाट देखिएको ओरोरा बोरिआलिस](https://ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/fd2c/live/09f87f50-b32f-11ef-a679-ff50ed8b6c3b.jpg.webp)
तस्बिरको क्याप्शन,सौर्य आँधीका कारण उत्तरी गोलार्धमा ‘ओरोरा बोरिआलिस’ अर्थात् ‘नोर्दर्न लाइट्स’ देखा पर्ने अवस्था सिर्जना हुन्छ । सूर्यको बाह्य मण्डल ‘करोना’मा यो यान उड्दा एउटा पुरानो रहस्यको कारण पत्ता लगाउन सकिने वैज्ञानिकहरूले ठानेका छन्। “सूर्यको सतह झन्डै ६,००० डिग्री सेल्सिअस छ। तर करोना जुन सूर्यग्रहण लाग्दा देखिने बाह्य मण्डल हो त्यसको तापक्रम लाखौँ डिग्री पुग्छ। त्यो सूर्यको सतहबाट निकै टाढा छ। वाह्य मण्डल कसरी निकै तातो बन्छ?”
यो अभियानले वैज्ञानिकहरूलाई सौर्य आँधीबारे पनि थप कुरा बुझ्न सघाउने ठानिएको छ। सौर्य आँधीमा करोनाबाट निरन्तर निस्किने आयनीकृत कणहरू हुन्छन्। ती कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा आकाशमा रङ्गीन प्रकाशयुक्त ‘ओरोरा’ बन्छ। ‘अन्तरिक्ष मौसम’ पनि भनिने यो प्रक्रियाका कारण कहिलेकाहीँ समस्या पनि उत्पन्न हुन सक्छ। ऊर्जा आपूर्ति गर्न निर्मित ग्रिडहरू, विद्युतीय सामग्रीहरू र सञ्चार प्रणाली त्यसबाट प्रभावित हुन सक्छन्। “सूर्य, त्यसका गतिविधि, अन्तरिक्ष मौसम, सौर्य आँधीबारे बुझ्नु पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ,”।
![नासाको सोलर डाइन्यामिक्स अब्जर्भेटरीले सौर्य आँधीका बेला सूर्यबाट निस्किएको लप्काको तस्बिर](https://ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/25e0/live/49d9d730-b330-11ef-9f36-312e30430efa.png.webp)
तस्बिर स्रोत,NASA