सरकारले विवाहको लागि २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएको छ । विवाह गर्न मिल्ने उमेर घटाउनु नहुनेमा सरोकारवालाको जोड दिएको छ । सरकारले २० वर्ष नपुगिकन कानूनी रुपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानूनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको राष्ट्रिय तथ्यांकले देखाउँछ । अझै २० वर्षबाट घटाइ १८ वर्षमा विवाह गर्न मिल्नेगरी कानून बनाउने विषयमा बहसहरु हुने गरेका छन् । तर सरोकारवाला निकायहरु भने किशोर किशोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गर्न सकिने कानूनी व्यवस्था नै सही रहेको जिकिर गर्छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिवले विवाहको उमेर कानूनी व्यवस्थाअनुसार दुवैको २० वर्ष हुनुपर्ने भएपनि अहिलेसम्मको प्रगति सन्तोषजनक नरहेको जिकिर गरे । उनले अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको अवस्था रहेको बताए ।उनले भने, ‘कानूनी व्यवस्था भनेको विवाहको उमेर दुवैको लागि २० वर्ष रहेको छ । र अहिलेको अवस्थामा २० वर्ष भन्दा कम उमेरमै विवाह हुने केटाकेटीको अवस्था हेर्दा त्यो सन्तोषजनक छैन । अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको राष्ट्रिय तथ्यांकले पनि देखाएको अवस्था छ । अहिलेको अवस्थामा कानूनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्वपूर्ण हो । त्यो कार्यान्वयन नभएको अवस्था छ । त्यसैले नेपाल सरकारले कानूनी विवाहको उमेरलाई कार्यान्वयन गर्नको लागि आफ्नो नीति, कार्यक्रम त्यसको अनुगमन गर्न आवश्यक छ । पछिल्ला समयहरुमा विवाह भइरहेको तर त्यसको उजुरी नपर्ने, रोकथामको लागि पर्याप्त प्रयासहरु भएको पनि देखिँदैन । जुनसुकै व्यक्तिले पनि बालविवाह हुन लागेको भए प्रहरीमा उजुरी गर्न सकिन्छ । प्रहरीले पनि आफैँले त्यसलाई रोक्न पहल गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा थाहा हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गरिएको अवस्था छ । कतिपय अवस्थामा नेपालमा विवाह हुन लागेको अवस्थामा यहाँ रोकिने अवस्था भए बाहिर देशमा गएर पनि विवाह हुने गरेको छ ।