काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी सहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । निजी घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा ढुंगामुढा तथा आगजनी बढ्दै गएपछि कर्फ्यु लगाइएको हो । राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोड प्रयास गरेका थिए ।
