म्यान्मारमा शुक्रवारको भूकम्पले हालसम्म १,६०० व्यक्तिको ज्यान गएको पुष्टि हुँदा कतिपय ठाउँमा खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेको स्थानीयवासीले बताएका छन्।
उद्धारकर्मीहरू भग्नावशेष भित्रबाट जीवित मान्छेको सङ्केत पाउने प्रयासमा जुटिरहेका छन्। “हामीले ती मानिसहरूलाई मात्र उद्धार गर्न सक्छौँ जसको आवाज हामीसम्म पुग्न सक्ला,” एक उद्धारकर्मीले भने।
शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ। अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।
शुक्रवारयता उद्धार प्रयासहरू जारी रहे पनि र अन्तर्राष्ट्रिय सहायता पुग्न थालिसकेको भए पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा ती सहयोग पुग्न सकेको छैन र सर्वसाधारण मानिसहरूले खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेका छन्। उद्धारकर्ताहरूले म्यान्डलेमा एउटा १२ तले भवनबाट ३० घण्टापछि एक महिलालाई भग्नावशेषबाट जीवितै निकालेका छन्। तर रेडक्रसले त्यहाँ भग्नावशेषभित्र अझै ९० जनाभन्दा बढी व्यक्ति फसेको बताएको छ।
नजिकै पर्ने एउटा नगरमा ‘प्रिस्कूल’ का १२ जना बालबालिका र एक शिक्षकका शव भग्नावशेषबाट निकालिएको अधिकारीहरूले बताएका छन्। संयुक्त राष्ट्रसङ्घले चिकित्सकीय आपूर्तिहरूको चरम अभावले सहायता प्रयास प्रभावित भएको जनाएको छ।
राष्ट्रसङ्घको मानवीय सहायता निकाय ओचाका अनुसार “ट्रमा किट”देखि त्रिपालसम्मको अभावका कारण स्वास्थ्यकर्मीहरूलाई काम गर्न गाह्रो भइरहेको छ। अन्तर्राष्ट्रिय सहायता आउने क्रम जारी रहेको भन्दै उसले चीनबाट सहायता सामग्री बोकेका १७ वटा ट्रक आइतवार आइपुग्ने जनाएको छ।