राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको मिति पर सारिने बताएको छ। शिक्षक आन्दोलनका कारण परीक्षा पर्सिदेखि सञ्चालन गर्न कठिन भएको भन्दै नयाँ रुटिन बुधवार प्रकाशित गरिने बोर्डका प्रमुखले बताएका छन्। परीक्षा तयारीका सन्दर्भमा प्राविधिकरूपमा पनि कतिपय कुराहरू मिलाउनु पर्ने भएकाले हामीले परीक्षाको मिति परिवर्तन गरेका छौँ। अर्को रुटिन भोलि सार्वजनिक गर्छौँ।” यसअघि बोर्डले राज्यका तीनवटै तहको संयन्त्र प्रयोग गरेर कक्षा १२ को परीक्षा गर्ने तयारी गरिरहेको बताइरहेको थियो भने आन्दोलनरत् शिक्षकहरूले परीक्षा सञ्चालनमा सहयोग नगर्ने बताएका थिए। मङ्गलवार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि निर्धारित समयमै परीक्षा हुने भन्दै बोर्डले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको थियो। आन्दोलनरत शिक्षकहरूले दुई सातासम्मका लागि कक्षा १२ को परीक्षा सार्न सुझाव दिएको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी थिइन्।
इलामको करफोक विद्या मन्दिरका प्रधानाध्यापक गणेशप्रसाद आचार्यलाई जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले कक्षा १२ को परीक्षाको तयारीबारे सोध्न मङ्गलवार टेलिफोन गर्दा केन्द्राध्यक्ष समेत रहेका उनी काठमाण्डूको शिक्षक आन्दोलनमा थिए। आचार्यले भनेका थिए, “म शिक्षक आन्दोलनमै छु। हाम्रो माग सम्बोधन नभएसम्म म फर्कनेवाला पनि छैन। हाम्रो केन्द्रमा परीक्षा हुँदैन भनिदिएको छु।”
परीक्षा सुरु हुन निर्धारित मितिभन्दा एक दिन मात्रै बाँकी रहँदा पनि करिब १,६०० परीक्षा केन्द्रका अधिकांश केन्द्राध्यक्षहरूलाई परीक्षा बोर्डले अभिमुखीकरण तालिम दिएको थिएन। राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूका अनुसार परीक्षा केन्द्र रहेका शैक्षिक संस्थाका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ। तर कैयौँ विद्यालयका प्रधानाध्यापकहरू शिक्षक आन्दोलनका लागि काठमाण्डू आएका कारण राष्ट्रिय परीक्षा बोर्ड प्राविधिक र नैतिक समस्यामा परेको थियो। कतिपय परीक्षा केन्द्रमा शिक्षकहरूले विद्यालयको तालासमेत नखोल्ने चुनौती आन्दोलनरत शिक्षकहरूले दिएका थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यही दिन परीक्षा केन्द्रमा प्रश्नपत्र उपलब्ध गराइने भएका कारण केन्द्राध्यक्ष अर्थात् विद्यालयका प्रधानाध्यापकको मोबाइलमा प्राप्त हुने ‘ओटीपी’का आधारमा मात्रै प्रश्नपत्र डाउनलोड गर्न मिल्छ।
-
“‘प्रश्नपत्र डाउनलोड’मा क्लिक गरेपश्चात् ‘ओटीपी प्राप्त गर्नुहोस्’ क्लिक गर्दा केन्द्राध्यक्षको मोबाईलमा ओटीपी प्राप्त हुने र सो ओटीपी ‘इन्ट्री’ गरेपश्चात् मात्र प्रश्नपत्र डाउनलोड गर्न सकिने गरी व्यवस्था मिलाइएको” परीक्षा बोर्डले यसअघि जारी गरेको सूचनामा उल्लेख थियो। आन्दोलनरत प्रधानाध्यापक परीक्षा सञ्चालनका लागि तयार नभए जिल्ला समन्वय समितिले अर्को व्यक्ति वा सरकारी कर्मचारीलाई पनि तोक्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका थिए। “हामीले प्रश्नपत्र प्रणालीबाट पठाउने हो। त्यहाँ खटिने कर्मचारीलाई उपलब्ध गराउँछौँ,” शर्माले भनेका थिए। “राज्यका सबै निकाय लागे भने परीक्षा चल्न सक्छ। केन्द्राध्यक्ष जिल्लाबाट तोकिए भने अनलाइन माध्यमबाट पनि अभिमुखीकरण दिन सकिन्छ,” उनले भनेका थिए।