नेपाल सरकारले हालको ‘राष्ट्रिय हवाई नीति २०८२’ मा प्राइभेट (निजी) जहाज राख्न पाइने व्यवस्था समावेश गरेको छ। मतलब, अब निजी प्रयोजनका लागि—व्यापारी, उद्योगी, कलाकार, व्यवसाय व्यापारी आदि—व्यक्ति वा संस्था आफैं जहाज (जेट वा हेलिकप्टर) राखेर उडान गर्न अनुमति लिनसक्ने छन् । नयाँ नीतिको मस्यौदामा नेपाली नागरिकले पनि अब निजी प्रयोजनका लागि जहाज किनेर चलाउन पाउने प्रस्ताव गरिएको छ। सरकारले तयार पारेको नयाँ हवाई नीतिमा नेपाली नागरिकले पनि निजी प्रयोजनका लागि जहाज किन्न पाउने लगायतका कैयौँ नयाँ व्यवस्थाहरू गरिएको अधिकारीहरूले बताएका छन्।सरकारले १९ वर्ष अगाडिको हवाई नीतिलाई विस्थापन गर्ने तयारीसहित ‘राष्ट्रिय हवाई नीति २०८२’ को मस्यौदा तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीतिको मस्यौदा तयार पारेर प्रारम्भिक छलफलका लागि सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको नयाँ हवाई नीतिले निजी प्रयोजनका लागि कुनै व्यक्ति वा संस्थालाई वायुसेवा सञ्चालन गर्न अनुमति दिने व्यवस्था गर्ने भएको छ । यो व्यवस्थापछि नेपालमा पहिलोपटक व्यक्तिगत प्रयोजनका लागि जहाज राखेर उडान गर्न पाइन्छ । हाल व्यवसायिक प्रयोजनका लागि मात्रै नेपालमा हवाई जहाज तथा हेलिकप्टर सेवा सञ्चालन गर्न पाइने व्यवस्था छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय गरी दुई भागमा विभाजित गर्ने गरी प्रस्ताव गरेको विधेयकमा निजी क्षेत्रलाई विमानस्थल भाडामा दिनेदेखि व्यक्तिगत रुपमा जहाज दर्ता गर्न पाइनेसम्मको प्रस्ताव गरेको छ।
नयाँ नीतिको आवश्यकताबारे त्यसको मस्यौदामा भनिएको छ, “हवाई क्षेत्रमा भएका नवीनतम परिवर्तन र उपलब्धिले सिर्जना गरेका अवसर तथा यस क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको सामना गर्नुपर्ने अपरिहार्यता तथा मुलुकले अवलम्बन गरेको सङ्घीय शासन व्यवस्थाको सन्दर्भ समेतलाई सम्बोधन गरी हवाई यातायात क्षेत्रमा विकसित नवीनतम प्रविधि र प्रणालीहरूलाई अङ्गीकार गर्दै लगानीमैत्री वातावरण, विपद्मैत्री एवं गुणस्तरीय पूर्वाधारमार्फत् सघन अन्तरआबद्धता कायम गर्न आवश्यक भएको छ।”
