अमेरिकामा सरकारी ‘शटडाउन’ को असर हवाई क्षेत्रमा गहिरिँदै गएको छ। प्रशासनिक सेवामा अवरोध आएपछि शुक्रबार मात्र देशभरका विभिन्न विमानस्थलहरूमा करिब १,४०० भन्दा बढी उडानहरू रद्द भएका छन्। ‘शटडाउन’ का कारण हवाई यातायात नियन्त्रणमा खटिएका कर्मचारीहरूको उपस्थितिमा कमी आएको र आवश्यक प्राविधिक सहयोग समयमै नपाउँदा उडान सञ्चालनमा अवरोध भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।वाशिङ्टन, न्युयोर्क, शिकागो र लस एन्जेलसका विमानस्थलहरू विशेष प्रभावित भएका छन्। उडान रद्दसँगै हजारौं यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। अमेरिकी यातायात विभागले समस्या समाधानका लागि आकस्मिक योजना तयार गरिरहेको जनाएको छ। तर ‘शटडाउन’ लामो समयसम्म जारी रहेमा थप उडानहरू पनि प्रभावित हुने चेतावनी दिइएको छ।

विश्लेषकहरूका अनुसार, राजनीतिक गतिरोधका कारण सरकारी कोष रोकिँदा हवाई सुरक्षा प्रणालीदेखि विमान मर्मत तथा तालिम कार्यक्रमसम्म प्रभावित भइरहेका छन्। यात्रुहरूलाई अनावश्यक यात्राबाट टार्न समेत आग्रह गरिएको छ।

फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’का अनुसार करिब शनिवार छ हजार उडानहरू ढिलाइ भए। त्यसअघि शुक्रवार सात हजार भन्दा बढी उडान प्रभावित भएका थिए। सङ्घीय उड्डयन प्रशासन (एफएए) ले साताको सुरुमा गरेको घोषणामा देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने बताइएको थियो। एअर ट्राफिक कन्ट्रोलरहरूले शटडाउनका कारण बिना तलब काम गर्नु परेको र उनीहरूको थकानलाई ध्यान दिएर त्यसो गर्नु परेको उसको भनाइ छ।

Similar Posts