काठमाडौँ : गत सोमबार नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको आयोजना विकास विभागले १० हजार ८०० सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र टेन्डर डकुमेन्ट तयारीका लागि दुई उम्मेदवारहरूको नाम सर्टलिस्ट गर्यो । डोल्पा जिल्लामा रहेको १०६ मेगावाट क्षमताका जगदुल्लाह अर्धजलाशययुक्त आयोजना निर्माणका लागि यही कार्य गर्न यसअघि कम्तीमा ८० मेगावाट क्षमताको आयोजनामा काम गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको थियो । यो थ्रेसहोल्ड झण्डै ७५ प्रतिशत हुन आउँछ । त्यस्तै, सुनकोसी–३ आयोजनाका लागि २०० मेगावाटको थ्रेसहोल्ड तय गरियो जुन २९ प्रतिशत मात्रै हो । कर्णाली चिसापानी आयोजनाको लागि ५०० मेगावाटको थ्रेसहोल्ड कायम गरिएको छ जुन ४.६३ प्रतिशत मात्रै हुन आउँछ । यसरी सर्टलिस्ट गरिएका कम्पनीहरूमा स्वीट्जरल्याण्ड–टर्कीको पिनि–टेमेल्सु जेभी र टर्कीकै डोल्सार इन्जिनियरिङ इंक कम्पनी रहेका छन् । सर्टलिस्ट गरिएका कम्पनीबाट उक्त आयोजनाको इन्जिनियरिङ डिजाइन र टेन्डर डकुमेन्ट तयारीबारे प्रस्ताव माग गरिनेछ ।
अहिलेसम्म प्राधिकरण अन्तर्गतका आयोजनामा टीएमएस ग्रुपले मात्रै झण्डै एक दर्जन ठेक्का पारिसकेका छन् । यस अन्तर्गत अपर तामाकोसीमा २५ मिलियन, अपर अरुणमा ४० मिलियन, तनहुँ हाइड्रोमा ४० मिलियन, तामाकोसी–५ मा ५ मिलियन, मध्य भोटेकोसीमा ७ मिलियन, मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको टिमोर–लित्से गरी दुई आयोजनामा १५ मिलियन, कुलेखानी–३ र राहुघाट परियोजनामा ४ मिलियन तथा अन्य आयोजनामा करिब १० मिलियन अमेरिकी डलर बराबरको रकम यही ग्रुपले मात्रै लगिसकेको छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो झण्डै ३० अर्ब रुपैयाँ बराबर हुन आउँछ ।
सुनकोसी–३ र कर्णाली चिसापानी आयोजनामा सर्टलिस्ट भएका कम्पनीहरू उस्तै उस्तै नामका देखिन्छन् । स्रोतका अनुसार यी कम्पनीहरू एउटै समूहका हुन् । जसलाई निश्चित एजेन्टले नेपालमा ल्याउँछन् । ती एजेन्टले नै प्राधिकरणको उच्च व्यवस्थापनसँग साँठगाँठ गर्छन् र यस्ता ठेक्काकसलाई पार्ने भन्ने तय हुन्छ । त्यही अनुसार आयोजनाको मापदण्ड बनाउने गरिएको छ । दुईवटा ठुला आयोजनामा एउटै नामका कम्पनीहरूले ठेक्का पाउनु स्वाभाविक नभएको उनीहरूको दाबी छ । यसमा प्राधिकरणभित्र ठुलो अनियमितता हुने गरेको र विदेशी कन्सल्टेन्टमार्फत् अर्बौं कुम्ल्याएर विदेशमै कारोबार व्यवस्थापन गर्ने गरेको स्रोतको दाबी छ । यस्तो लेनदेन नहुने भएकोले यसमा सम्पत्ति शुद्धीकरण लगायतको समस्या पनि हुँदैन । १८० मिटर क्षमताको ड्याम रहेको सुनकोसी–३ को लागि ११० मिटरको ड्याम भएको आयोजनाको अनुभव आवश्यक हुनेगरी थ्रेसहोल्ड राखिएको थियो जसन झण्डै ६० प्रतिशत हो । कर्णाली चिसापानी आयोजनाका लागि भने १३० मिटरको थ्रेसहोल्ड कायम गरिएको छ, यो झण्डै ४८ प्रतिशत बराबर हुन आउँछ । कर्णाली चिसापानी आयोजनामा ड्यामको उचाइ २७० मिटरको हुने अनुमान गरिएको छ । यीमात्रै नभएर कुनैपनि आयोजनामा कुनै निश्चित मापदण्ड लागु नभएको स्रोतको भनाइ छ ।