संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचन गर्न मङ्गलवार मतदान भइरहेको छ। यो निर्वाचनबाट देशका ४७औँ राष्ट्रपति छानिने छन्। पदासीन उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। न्यूयोर्क र इन्डिआनासहितका पूर्वी क्षेत्रहरूबाट सुरु भएरको मतदान अमेरिकाका अधिकांश राज्यहरूमा जारी छ। ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गरिरहेकी छन्। ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बौँसम्म कर कटौती गर्ने वाचा गरेका छन्।
मतदानको मुख्य दिनअघि नै आठ करोडभन्दा धेरै अमेरिकीहरूले अग्रिम मत खसालिसकेका छन्। निर्वाचनको अन्तिम परिणाम छिटोमा मतदान सकिएको केही समयमै र ढिलोमा केही दिनपछि आउन सक्ने ठानिएको छ। राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भएको थियो। डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट बाहिरिएपछि उनको स्थानमा ह्यारिस उम्मेदवार बनेकी हुन्। दुवै पक्षका उम्मेदवारहरूले चुनावी प्रचार र विज्ञापनमा अर्बौँ डलर खर्च गरेका छन्। मतसर्वेक्षणहरूले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने र मतान्तर निकै कम हुने देखाएका छन्।
विश्लेषकहरूले माथिल्लो सदन भनिने सिनेटमा रिपब्लिकनहरूले आफ्नो पुरानो नियन्त्रण फर्काउने आकलन गरेका छन्। डेमोक्र्याटहरूले प्रतिनिधिसभामा नियन्त्रण कायम गर्ने आकलन भएका छन्। यसमा बहुमतका लागि उक्त दललाई अहिले भएको भन्दा केही सीट मात्रै थप गरे पुग्ने अवस्था छ। अमेरिकी सदनहरूमा हुने बहुमतले सन् २०२६ मा हुने अर्को कङ्ग्रेसको निर्वाचनअघिसम्म राष्ट्रपतिले गर्ने शासनलाई प्रत्यक्ष असर पुर्याउन सक्छ। संसद्का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपतिको योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्न सक्छ।