प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक गतिविधिलाई लिएर प्रतिनिधि सभाको बैठकमा सोमवार गरेको ‘चेतावनीपूर्ण’ सम्बोधनपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। संसदमा बोल्दै प्रधानमन्त्री ओलीले एक वर्षअघिदेखि ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व’ क्रियाशील रहेको टिप्पणी गरेका छन्।
राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति चैत १५ गते काठमाण्डूमा भएको प्रदर्शनका क्रममा हिंसा भएपछि भावी राजनीतिक घटनाक्रमलाई लिएर चासो बढेका बेला ओलीको सम्बोधनले थप ध्रुवीकरणको सङ्केत गरेको ठानिएको छ।
संसदमा बोल्ने क्रममा पूर्वराजा शाहको फागुन छ गतेको वक्तव्यलाई ओलीले संविधान विरोधी गतिविधिसँगको सन्दर्भमा जोडे। आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै शाहले वक्तव्यबाजी गरेको भन्दै ओलीले भने, “त्यसको लगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो।”
तर सचिव पाठकले जनता भड्काएको आरोपको प्रतिवाद गरेका छन्। उनले पूर्वराजा फागुन ६ गतेको आफ्नो वक्तव्य र २५ गते पोखराबाट फर्किँदा भएको स्वागतका क्रममा दृश्यमा रहेको बताए।
“२५ गतेको मासलाई भड्काएको भए पो आरोप लगाउन मिल्थ्यो।” उनले भने, “राजगद्दी छाड्दा पनि नेपाली नमरुन्, म कतै जाने होइन, नेपाली भएरै म बाँच्छु भन्ने व्यक्ति वितण्डा मच्चाउन अगाडि सर्छ?”उनले पछिल्ला १८ वर्षसम्म पूर्वराजा चुपचाप बसेको टिप्पणी पनि गरे। “पूर्व राजाले कहिले उत्तेजित (प्रभोक) गर्दै हिँडेको छ? यो त पूर्वराजालाई फसाउन सुनियोजित रूपमा कसैले षड्यन्त्र गरेको देखिन्छ,” उनको दाबी छ।
शाहले आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै सार्वजनिक वक्तव्य दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका थिए। गणतन्त्र पक्षधर अन्य नेताहरूले पनि पूर्व राजाको त्यो अभिव्यक्तिमा व्यवस्था उल्टाउने उद्देश्य लुकेको अर्थ लगाइरहेको पाइन्छ। पाठकले त्यसको पनि बचाउ गरे। “यही व्यवस्था र प्रणालीभित्रबाटै पूर्व राजाको अभिव्यक्तिको उद्देश्य सम्भव हुने” उनको धारणा छ।