काठमाडौं, टोखा नगरपालिका वडा नं. ४ ले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा सामाजिक क्षेत्रका गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, ज्येष्ठ नागरिक, आमा–बुबा तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन दीपक न्यौपानेले गरेका

 थिए। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै सार्वजनिक सुनुवाइ नागरिक र सेवा प्रदायकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरियो। यसले स्थानीय सरकारका गतिविधिलाई पारदर्शी, जवाफदेही तथा जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा वडा नं. ४ को प्रशासनिक सेवा प्रवाह, विकास निर्माणका कार्य, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी तथा लक्षित वर्गसँग सम्बन्धित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। वडा सचिव बिक्रम सम्बाहाम्फेले प्रशासनिक सेवा प्रवाहसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

यस अवसरमा वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गर्न सफल भएको विषयलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको सहभागिता सुनिश्चित गर्न वडाले सञ्चालन गरेका विभिन्न कार्यक्रम समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक पूर्वाधार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले उठाएका विषयमा सम्बन्धित शाखा प्रमुख, कर्मचारी तथा जनप्रतिनिधिहरूले जवाफ दिएका थिए।कार्यक्रममा बोल्दै वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माणका कार्य, सेवा प्रवाहमा भएका सुधार तथा सामाजिक क्षेत्रका उपलब्धिबारे जानकारी गराउँदै नागरिकको सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा आयोजक वडा कार्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी, संघसंस्था तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गरेको थियो। साथै, सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीच विश्वास, पारदर्शिता तथा जवाफदेहिताको सम्बन्धलाई थप मजबुत बनाएको निष्कर्ष निकालिएको थियो।

Similar Posts