काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता पक्ष र विपक्षी दलबीच चर्को विवाद भएपछि संसद्‌भित्र तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रतिनिधिसभा नियमावली पारित गर्ने विषयलाई लिएर विपक्षी सांसदहरूले विरोध जनाउँदै वेल घेराउ, नाराबाजी तथा अवरोध गरेपछि बैठक अव्यवस्थित बनेको हो। सभामुख डीपी अर्यालले नियमावलीलाई निर्णयार्थ प्रस्तुत गर्न खोजेपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेका थिए। विरोधका क्रममा केही सांसदहरूले बैठक कक्षभित्र रहेका कुर्सीहरू उठाएर फ्याँकेको तथा धकेलाधकेलको स्थिति सिर्जना भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। संसद् भवनभित्र मर्यादापालक परिचालन गर्नुपरेको थियो।

विपक्षी दलहरूले नियमावलीमा संविधान र प्रचलित कानुनसँग बाझिने व्यवस्था समावेश गरिएको भन्दै प्रतिवेदन पुनः समितिमा फर्काएर दफावार छलफल गर्न माग गरेका थिए। तर सभामुखले बहुमतका आधारमा प्रक्रिया अघि बढाएपछि विवाद चुलिएको हो। बैठकका क्रममा सभामुखलाई मर्यादापालकहरूले घेरा हालेर सुरक्षा दिनुपरेको दृश्य सार्वजनिक भएको छ। विपक्षी सांसदहरूले सभामुख निष्पक्ष नरहेको आरोप लगाउँदै लगातार नाराबाजी गरेका थिए। तनाव र अवरोधका बीच प्रतिनिधिसभा नियमावली अन्ततः बहुमतले पारित गरिएको छ। घटनापछि संसद्‌भित्रको राजनीतिक वातावरण थप तातिएको छ भने सत्ता पक्ष र विपक्षीबीच आरोप–प्रत्यारोप जारी रहेको छ।

 

Similar Posts