काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माणका कार्य, सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासका गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष शान्ता खनाल–पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, जनप्रतिनिधिहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन पत्रकार तथा द पावर न्युज डटकमका दीपक न्यौपानेले गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै उनले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउने महत्वपूर्ण लोकतान्त्रिक अभ्यास भएको बताए। उनले नागरिकका गुनासा, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रूपमा सुनेर समाधान खोज्ने माध्यमका रूपमा सार्वजनिक सुनुवाइ प्रभावकारी रहेको उल्लेख गरे। कार्यक्रममा वडा सचिव सरिता तिवारीले वडा कार्यालयको प्रशासनिक सेवा प्रवाह तथा विभिन्न योजनाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्। त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा वडा नं. ६ मा सम्पन्न भएका विकास निर्माण, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा अन्य सेवा प्रवाहसम्बन्धी गतिविधि समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले सडक, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, महिला तथा बालबालिका, लक्षित वर्ग कार्यक्रमलगायत विभिन्न विषयमा प्रश्न, जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले उठाएका विषयमा वडा अध्यक्ष शान्ता खनाल–पौडेल तथा सम्बन्धित पदाधिकारीहरूले जवाफ दिएका थिए। कार्यक्रममा वडा अध्यक्ष खनाल–पौडेलले आफ्नो करिब चार वर्षे कार्यकालमा वडा नं. ६ मा भएका विकास निर्माणका उपलब्धि, सेवा प्रवाहमा भएका सुधार तथा सामाजिक क्षेत्रका प्रगतिबारे जानकारी दिँदै नागरिकको सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समावेश गरिने बताइन्।

उनले वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्न सफल भएको उल्लेख गर्दै बालअधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण, बाल सहभागिता अभिवृद्धि तथा बालमैत्री शासन प्रणालीलाई संस्थागत गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। साथै बालमैत्री वातावरणलाई दिगो बनाउन आगामी दिनमा समेत विशेष योजना तथा कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमको अन्त्यमा वडा कार्यालयले सार्वजनिक सुनुवाइ सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल, सुरक्षाकर्मी, विभिन्न संघसंस्था तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गरेको थियो। वडावासी र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद स्थापना गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउने उद्देश्यसहित सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाएको सहभागीहरूले बताएका छन्।

 

Similar Posts