काठमाडौँ, असार २० :  प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका १०० दिने उपलब्धिबारे जानकारी दिनुभएको हो। प्रवक्ता पोखरेलका अनुसार सरकारको प्रमुख उपलब्धिमध्ये पहिलो प्राथमिकतामा सङ्घीय मन्त्रालयको सङ्ख्या घटाउने निर्णय रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार मन्त्रालयको सङ्ख्या घटाइएपछि राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ। यसले सरकारी खर्च नियन्त्रणसँगै प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने विश्वास सरकारको रहेको छ।

त्यसैगरी, विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत अनावश्यक खर्च कटौती गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने काम अघि बढाइएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले राजनीतिक दल निकट ट्रेड युनियन तथा विद्यार्थी सङ्गठन खारेजीलगायत सुधारात्मक कदमहरू अघि बढाएको उल्लेख गर्दै यस्ता निर्णयले सुशासन, मितव्ययिता र प्रशासनिक सुधारतर्फ सकारात्मक सन्देश प्रवाह भएको उहाँले बताउनुभयो।

Similar Posts