मोदीसँग उच्चस्तरीय भेटवार्ता, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा उच्चस्तरीय भेटवार्ता हुँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भारतका प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको दोस्रो दिन बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिने कार्यतालिका छ। त्यसपछि बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर उनले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता हो। उक्त भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलविद्युत्, पूर्वाधार विकास तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, नेपालमा पछिल्लो समय आएको बाढीपहिरोबाट भएको क्षति, विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोगका विषय पनि छलफलको महत्वपूर्ण एजेन्डामा रहने बताइएको छ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि विभिन्न समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ। यसले आगामी दिनमा नेपाल–भारतबीचको आर्थिक, सामाजिक तथा विकास साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष अयोध्या–जनकपुरधाम रेल सेवा हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीबाट श्रव्यदृश्य माध्यममार्फत अयोध्या र जनकपुरधाम जोड्ने नयाँ रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीच धार्मिक पर्यटन र आवागमन प्रवर्द्धनमा यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यसअघि भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र आगामी उच्चस्तरीय वार्ताका विषयमा छलफल भएको थियो। त्यसैगरी, प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरममा समेत सहभागी भएका थिए।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू भारत भ्रमणमा सहभागी छन्।

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री शाहले अपराह्न ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। सबै औपचारिक कार्यक्रम सम्पन्न गरी उनी आजै साँझ ६ः३५ बजे काठमाडौं फर्किने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री बनेपछि बालेन शाहको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो। त्यसैले यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संवाद, आर्थिक सहकार्य र विकास साझेदारीको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

दुई देशबीचको पारस्परिक विश्वास, समानता, राष्ट्रिय हित र आपसी सम्मानलाई केन्द्रमा राख्दै हुने छलफल तथा सहमतिले नेपालको विकास, ऊर्जा व्यापार, पूर्वाधार निर्माण र आर्थिक समृद्धिमा कस्तो योगदान पुर्‍याउँछ भन्ने विषयलाई अहिले विशेष चासोका साथ हेरिएको छ।

Similar Posts