नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। सातै रङका टीका, मखमली र सयपत्री फूलको माला तथा मिठाईसहित दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको पर्व भाइटीका मनाइँदै।

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता तथा पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिने, सप्तरङ्गी टीका लगाउने तथा मिठाई, फलफूल र विभिन्न परिकार खुवाउने चलन छ।

परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई पूजा गरी तेलको घेरा र दूबो राखेर यमराजबाट रक्षा होस् भन्ने कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर माया र सम्मान प्रकट गर्ने गर्छन्।धार्मिक मान्यताअनुसार भाइटीकाको सम्बन्ध यमराज र उनकी बहिनी यमुनासँग जोडिएको छ। यमुनाले आफ्ना दाजु यमराजलाई विशेष सम्मानसहित टीका लगाएर पूजा गरेको दिनको सम्झनामा भाइटीका मनाउने परम्परा सुरु भएको जनविश्वास छ। यस दिन टीका लगाउँदा दाजुभाइको आयु लामो हुने र जीवनमा सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यद्यपि, सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिको भनाइ छ। टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ

भाइटीकाको अवसरमा बजारमा फूलमाला, मिठाई, फलफूल तथा पूजाका सामग्रीको किनमेलसमेत बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका दाजुभाइ तथा दिदीबहिनीसमेत पारिवारिक भेटघाटका लागि घर फर्किएका छन्।

नेपालको मौलिक संस्कृति र पारिवारिक एकताको प्रतीकका रूपमा रहेको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ। आधुनिक व्यस्त जीवनशैलीका कारण टाढा रहेका परिवारका सदस्यलाई समेत एकै ठाउँमा भेला गराउने यस पर्वको विशेष महत्व रहेको छ।

 

Similar Posts