नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन मनाइँदै छ। तिहारको महत्वपूर्ण दिनका रूपमा लिइने आज बिहान कुकुरको पूजा र साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाउने परम्परा रहेको छ।

कुकुरलाई इमानदार, आज्ञाकारी र मानिसको विश्वासिलो साथीका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा समेत लिने गरिन्छ। कुकुर तिहारका अवसरमा घरपालुवा तथा सडकमा रहेका कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाएर सम्मान गर्ने चलन छ।

तिहारको अर्को महत्वपूर्ण पक्ष लक्ष्मीपूजा हो। साँझ घर, पसल, कार्यालय तथा व्यावसायिक प्रतिष्ठान सफा गरी दीप प्रज्वलन गरिन्छ। घरको मूलढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पिठोबाट लक्ष्मीको पाइला बनाउने परम्परा छ।

धार्मिक विश्वासअनुसार लक्ष्मीपूजाको रात देवी लक्ष्मीले सफा, उज्यालो र सुन्दर घरमा प्रवेश गरी धन, सुख तथा समृद्धि प्रदान गर्ने मान्यता छ। यही विश्वासका कारण घरका झ्याल, ढोका, कौसी र आँगनमा दियो तथा बत्ती बालेर घरलाई झिलिमिली बनाउने गरिन्छ।

लक्ष्मीपूजाका अवसरमा विशेषगरी व्यापारी तथा व्यवसायीले आफ्नो कारोबार स्थलमा धनकी देवी लक्ष्मीको पूजा गर्छन्। नयाँ खाता सुरु गर्ने, नगद तथा बहुमूल्य सामग्रीको पूजा गर्ने र आर्थिक उन्नतिको कामना गर्ने परम्परा पनि रहेको छ।

तिहारसँगै बजारमा फूलमाला, माटाका दियो, बत्ती, मिठाई तथा पूजासामग्रीको किनमेल बढेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा गाउँबस्तीमा दीपावलीको तयारीले चहलपहल थपिएको छ।

 

 

Similar Posts