महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको जोखिमपूर्ण नदी वारपारको समस्या अन्त्य भएको छ। पुल सञ्चालनमा आएपछि तुइन र ट्युबको सहायताले महाकाली नदी पार गर्नुपर्ने बाध्यता हटेको हो।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ७ गते संयुक्त रूपमा उद्घाटन गरेको उक्त पुल अहिले सञ्चालनमा आएको छ। भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट पुलको उद्घाटन गरेका थिए।
दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमलाई जोड्ने यो पुल ११० मिटर लामो र दुई लेनको छ। पुल सञ्चालनमा आएसँगै दुवै देशका नागरिक तथा सवारीसाधनलाई सीमापार आवतजावत गर्न सहज भएको छ।
पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका बासिन्दामा खुसी छाएको छ। महाकाली नगरपालिका–८ दत्तुका स्थानीय महेश कार्कीले लामो समयदेखि प्रतीक्षा गरिएको पुल सञ्चालनमा आएपछि दैनिक जनजीवन सहज हुने विश्वास व्यक्त गरेका छन्। मोटरेबल पुल नहुँदा पैदल तथा तुइनको माध्यमबाट आवतजावत गर्नुपर्ने बाध्यता अब हटेको उनको भनाइ छ।
त्यस्तै, मालिकार्जुनका व्यापारी गगनसिंह धामीले पुल सञ्चालनमा आउनु सीमावर्ती क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। तर पुल प्रयोगका लागि तोकिएका केही नियमले स्थानीयलाई समस्या पार्न सक्ने भन्दै उनले ती नियमलाई सहज बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
यसअघि महाकाली नदी पार गर्न स्थानीय बासिन्दाले तुइन, ट्युब तथा अन्य जोखिमपूर्ण माध्यम प्रयोग गर्नुपर्ने अवस्था थियो। विशेषगरी दैनिक उपभोग्य सामग्री खरिद, व्यापार व्यवसाय, स्वास्थ्य उपचार तथा अन्य आवश्यक कामका लागि नदी वारपार गर्नुपर्ने स्थानीयले लामो समयदेखि सुरक्षित पुलको माग गर्दै आएका थिए।
हाल पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ। बेलुका ६ बजेपछि सामान्य अवस्थामा पुल बन्द रहने भए पनि आकस्मिक तथा आपत्कालीन अवस्थामा यात्रु र सवारीसाधनको आवतजावत नरोक्ने व्यवस्था गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्।
स्थानीय बासिन्दाले भने सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै पुललाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने माग गरेका छन्। विशेषगरी रातिको समयमा आकस्मिक स्वास्थ्य उपचार, बिरामीको ओसारपसार तथा अन्य अत्यावश्यक कामका लागि समयसीमाले समस्या सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नेपाली र भारतीय सवारीसाधनलाई सीमावर्ती क्षेत्रका नजिकका बजारसम्म आवतजावत गर्न अनुमति दिइएको छ। नेपाली सवारीसाधनले भारततर्फ १५ किलोमिटरसम्म यात्रा गर्न पाउने व्यवस्था रहेको छ। सोभन्दा टाढा जानुपरेमा भारतीय दूतावासबाट जारी हुने आवश्यक पास लिनुपर्नेछ।
त्यसैगरी, भारतीय सवारीसाधनले पनि नेपालतर्फ नजिकका बजारसम्म आवतजावत गर्न पाउनेछन्। असिगडा पुल हुँदै सदरमुकाम खलंगासम्म आउने भारतीय सवारीसाधनको विवरण अभिलेख राख्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
पुल सञ्चालनमा आएपछि दार्चुला र भारतको धार्चुलाबीचको आवतजावत, स्थानीय व्यापार तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पुलले शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक उपभोगका लागि सीमापार जानुपर्ने नागरिकको यात्रा सहज बनाउने विश्वास गरिएको छ।
