काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब व्यक्तिगत कम्पनीको शेयर मूल्य एकैदिन अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। साथै, प्री–ओपन सेसनमा मूल्य परिवर्तनको सीमा ५ प्रतिशत कायम गरिएको छ।यसअघि यस्तो सीमा १० प्रतिशत मात्रै थियो। त्यसैगरी, बजार खुल्नुअघिको ‘प्री-ओपन सेसन’ (बिहान १०:४५ देखि ११:०० बजेसम्म) को मूल्य सीमामा पनि संशोधन गरिएको छ। अब प्री-ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि यो सीमा निकै कम थियो, जसले गर्दा बजार खुल्ने बित्तिकै हुने मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो। ५ प्रतिशतको नयाँ सीमाले नियमित बजार खुल्नुअघि नै वास्तविक मूल्य तय हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा (Price Limit) र प्री-ओपन सेसनको मापदण्डमा महत्त्वपूर्ण परिवर्तन गरिएकोनेप्सेका प्रवक्ता मुराहरि पराजुलीकाअनुसार, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा व्यक्तिगत कम्पनीको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। “व्यक्तिगत कम्पनीको हकमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत घटबढ हुने गरी संशोधन भएर आएको छ,” प्रवक्ता पराजुलीले भने। यससँगै अब कुनै पनि सूचीकृत कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।

नेप्सेका अनुसार, बजारलाई थप गतिशील र प्रतिस्पर्धी बनाउन यस्तो व्यवस्था ल्याइएको हो। यसअघि दैनिक मूल्य उतारचढावको सीमा कम रहेकोमा नयाँ निर्णयसँगै लगानीकर्ताले छोटो समयमै बजारको प्रतिक्रिया अनुसार कारोबार गर्न सक्नेछन्। यसले बजारमा तरलता बढाउने र कारोबारको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्री–ओपन सेसन, जसमा बजार खुल्नुअघि प्रारम्भिक मूल्य निर्धारण गरिन्छ, त्यसमा भने ५ प्रतिशतको सीमा तोकिएको छ। यसले बजार खुल्दा अत्यधिक अस्थिरता आउन नदिने र प्रारम्भिक मूल्यलाई सन्तुलित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकरलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिने भएको हो।

तर, बजार विश्लेषकहरूले यस्तो परिवर्तनसँगै जोखिम पनि बढ्ने चेतावनी दिएका छन्। उच्च उतारचढावका कारण छोटो समयमा ठूलो नाफा कमाउने अवसर बढे पनि त्यति नै जोखिम पनि रहने भएकाले लगानीकर्तालाई सतर्क रहन सुझाव दिइएको छ। विशेषगरी नयाँ लगानीकर्ताले बजारको प्रकृति बुझेर मात्र लगानी गर्नुपर्नेमा जोड दिइएको छ।

लगानीकर्ताहरूले भने यस निर्णयलाई मिश्रित रूपमा लिएका छन्। केहीले बजारमा अवसर बढ्ने भन्दै स्वागत गरेका छन् भने केहीले अस्थिरता बढ्ने चिन्ता व्यक्त गरेका छन्। बजारमा ठूलो पूँजी भएका लगानीकर्ताले मूल्यमा प्रभाव पार्न सक्ने सम्भावनाबारे पनि बहस सुरु भएको छ।

नेप्सेले भने आवश्यक परेमा थप सुधार र नियमनात्मक कदम चालिने जनाएको छ। नयाँ व्यवस्था लागू भएसँगै आगामी दिनमा शेयर बजारको व्यवहार कस्तो रहन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

Similar Posts