केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको मङ्गलवार १०० दिन पुग्दा सत्तापक्षकै कतिपय नेताले “सरकारले जनतामा आशा जगाउने खालको काम गर्न नसकेको” बताएका छन्। मन्त्रीहरूले आफ्ना सय दिनका “उपलब्धि” सार्वजनिक गरिरहेका बेला सत्तापक्षभित्रै सरकारको कामलाई लिएर असन्तुष्टि रहेको देखिएको हो। संसद्‌का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनमा बनेको अहिलेको सरकारलाई सत्ताधारी नेताले “शक्तिशाली र जनतामा आशा जगाउने सरकार” भनेर दाबी गरिरहेका छन्।

संसद्‌का दुई ठूला दलहरू मिलेर वर्तमान गठबन्धन बनाएदेखि नै कतिपयले यो लामो समयसम्म नजाने दाबी गर्दै आएका छन्। एकाएक आफ्नो साथ छाडेर एमाले कांग्रेससँग मिल्न गएका कारण सत्ता गुमाएर प्रतिपक्षमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै पटकपटक यस्तै दाबी गर्दै आएका छन्। पछिल्लो पटकको एउटा टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले “आफू अहिले सत्तामा जाने दौडमा नरहेको तर कांग्रेस र एमालेकै कारण यो गठबन्धन लामो समयसम्म नटिक्ने” बताएका थिए।  कतिपयले दाबी गरेजस्तै सत्ताधारी विशेष गरी कांग्रेस र एमालेबीच प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि देखापरेको बताइने गरेको छ। दुवै दलका नेताहरू औपचारिक कुराकानीमा भने “मनमुटाव नरहेको” दाबी गर्छन्। तर बनेको केही समयदेखि नै विशेष गरी सत्ता साझेदार नेपाली कांग्रेसका कतिपय नेताहरूले सरकारले “प्रभावकारी काम गर्न नसकेको” भनेर आलोचना गरिरहेका छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *