काठमाडौं । टोखा नगरपालिका वडा नं. ९ मा घर नम्बर प्लेट जडान कार्यको औपचारिक शुभारम्भ गरिएको छ। नगर प्रमुख प्रकाश अधिकारीज्यूले एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गर्नुभएको हो। नगर प्रमुख अधिकारीले व्यवस्थित घर नम्बर प्रणालीले नगरको अभिलेखीकरण, ठेगाना व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले घर नम्बर प्लेट जडान भएपछि नागरिकलाई विभिन्न सरकारी तथा गैरसरकारी सेवा प्राप्त गर्न, आपत्कालीन उद्धार सेवा सञ्चालन गर्न तथा सम्पत्ति पहिचान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अभियानअन्तर्गत वडा भित्रका सबै घरधुरीमा क्रमिक रूपमा घर नम्बर प्लेट जडान गरिने नगरपालिकाले जनाएको छ। टोखा नगरपालिकाले आधुनिक, व्यवस्थित र प्रविधिमैत्री नगर निर्माण गर्ने उद्देश्यका साथ घर नम्बर प्लेट जडान अभियान सञ्चालन गरेको जनाएको छ। यस अभियानले नगरको डिजिटल अभिलेखीकरण, कर प्रशासन, सेवा प्रवाह तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Similar Posts