काठमाडौं । टोखा नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, श्रम, वातावरण तथा संस्कृति संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाले स्थानीय नागरिकको जीवनस्तर सुधार तथा समृद्ध नगर निर्माणलाई लक्ष्य बनाएर विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। हालै नगरपालिकाले रोजगार सेवा केन्द्रमार्फत श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तर्गत श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा श्रमिकको अधिकार, सामाजिक सुरक्षा तथा रोजगारका अवसरबारे जानकारी प्रदान गरिएको थियो।
वातावरण संरक्षणअन्तर्गत नदी सरसफाइ अभियान, हरियाली प्रवर्द्धन तथा सरसफाइ कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। साथै राजस्व सचेतना अभिवृद्धिका लागि कर सप्ताह अभियानसमेत सञ्चालन गरिएको छ। यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूको पोषण सुधारका लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ समेत सञ्चालनमा रहेको छ, जसबाट विद्यार्थीहरूको नियमित विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव परेको बताइएको छ।
