काठमाडौं, साउन १ : नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्ताको उत्साह बढेसँगै शुक्रबार नेप्से परिसूचक ७९.७४ अंक (करिब ३.०६ प्रतिशत) ले वृद्धि हुँदै २,६७७.५४ विन्दु मा पुगेर कारोबार बन्द भएको हो।

पछिल्ला केही कारोबार दिन सामान्य उतारचढावमा रहेको सेयर बजारले नयाँ आर्थिक वर्षको सुरुवातमै उच्च अंकको वृद्धि हासिल गरेपछि लगानीकर्तामा सकारात्मक सन्देश गएको छ। बजारसँगै सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट सूचकहरू पनि उल्लेख्य रूपमा उकालो लागेका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा करिब ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो।

बजारमा अधिकांश उपसमूह हरियाली देखिएका छन्। विशेषगरी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, लगानी तथा अन्य उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। यसले बजारमा व्यापक खरीद चाप रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। बजार विश्लेषकहरूका अनुसार नयाँ आर्थिक वर्षसँगै आउने मौद्रिक नीति, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर तथा पूँजी बजार सुधारसम्बन्धी सकारात्मक अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ। यही कारण बजारमा नयाँ लगानी आकर्षित हुन थालेको उनीहरूको भनाइ छ। लगानीकर्ताले आगामी दिनमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको आर्थिक कार्यक्रम तथा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणलाई नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ। यी पक्षहरू अनुकूल रहेमा सेयर बजारले आगामी दिनमा पनि सकारात्मक गति कायम राख्न सक्ने अनुमान गरिएको छ।

Similar Posts