१४ कात्तिक, काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ । लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ ।
यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास रहिआएको छ ।