फिलिपिन्स र इन्डोनेशियाको तटीय क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार दक्षिण फिलिपिन्सको मिन्डानाओमा शुक्रवार बिहान म्याग्निट्यूड ७.४ को भूकम्प भूकम्प गएको छ ।भूकम्पको गहिराइ करिब २० किलोमिटर रहेको बताइएको छ। शक्तिशाली धक्का मिन्दानाओका सहरहरूमा समेत तीव्र रूपमा महसुस गरिएको थियो।भूकम्पपछि फिलिपिन्स इन्स्टिच्युट अफ भल्क्यानोलोजी एन्ड सेइस्मोलोजी (PHIVOLCS) ले सुनामीको चेतावनी जारी गर्दै तटीय बस्तीका बासिन्दालाई उच्च स्थानमा जान आग्रह गरेको थियो। केही घण्टापछि ठूलो सुनामी लहरको खतरा नदेखिएपछि चेतावनी हटाइएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मिन्दानाओका केही क्षेत्रमा भवन र पुलमा क्षति, बिजुली आपूर्तिमा अवरोध र आतंकित सर्वसाधारणको घर बाहिर रात बिताउने अवस्था बनेको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा २ जनाको मृत्यु र केही घाइते भएको खबर आएको छ।
त्यसैगरी, भूकम्पको असर इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रसम्म पुगेको थियो। इन्डोनेसिया भूगर्भ विभागले पनि त्यहाँ साना सुनामी लहरहरूको चेतावनी जारी गरेको थियो। स्थानीय प्रशासनले समुद्र किनारका बासिन्दालाई सावधानी अपनाउन निर्देशन दिएको छ। हाल फिलिपिन्स र इन्डोनेसियाका उद्धारकर्मीहरू प्रभावित क्षेत्रहरूमा पुगेर क्षति मूल्याङ्कन र राहत कार्यमा जुटिरहेका छन्। सरकारहरूले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचना मात्र पालना गर्न आग्रह गरेका छन्।
