काठमाडौंको गोंगबु क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरमा बिहीबार अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले अनाहत नेपाल, नेपाल प्रहरी र महानगर प्रहरीसँगको समन्वयमा उक्त अनुगमन गरेको हो। बालबालिकालाई श्रम शोषण तथा यौन शोषणबाट जोगाउने उद्देश्यले अनुगमन गरिएको समितिले जनाएको छ। पछिल्लो समय होटल, लज, गेस्ट हाउस, खाजाघर, मसाज तथा स्पा सेन्टरलगायतका क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई विभिन्न बहानामा काममा लगाउने तथा यौन शोषणमा प्रयोग गर्ने गरेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको हो।   

अनुगमनका क्रममा केही स्पा तथा मसाज सेन्टर आवश्यक दर्ता प्रक्रियाबिना सञ्चालन भएको तथा निर्धारित आचारसंहिता पालना नगरेको समेत पाइएको समितिले जनाएको छ। समितिकी संयोजक शान्ता प्रजापतिका अनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण काम, श्रम शोषण वा यौन व्यवसायमा लगाउनु गम्भीर अपराध हो। त्यस्तो कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उहाँले बताउनुभयो। समितिले स्पा तथा मसाज सेन्टर सञ्चालकलाई कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा राख्न आग्रह गरेको छ। साथै, प्रत्येक व्यवसायस्थलमा ‘बालश्रम तथा यौन शोषण निषेध’ सम्बन्धी सूचना स्पष्ट रूपमा राख्नुपर्नेमा पनि जोड दिइएको छ।

बालबालिकाको सुरक्षा र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता अनुगमनलाई केवल कारबाही गर्ने उद्देश्यका रूपमा मात्र नभई सुरक्षित तथा मर्यादित समाज निर्माण गर्ने अभियानका रूपमा लिनुपर्ने समितिको भनाइ छ। महानगरपालिकाले बालश्रम, बाल यौन शोषण वा बालबालिकामाथि कुनै प्रकारको दुर्व्यवहार भइरहेको जानकारी पाएमा तत्काल सम्बन्धित वडा कार्यालय वा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बालबालिकाको अधिकार र सुरक्षाका लागि सरकारी निकाय, व्यवसायी तथा नागरिक समाजबीच निरन्तर सहकार्य आवश्यक रहेको समितिले जनाएको छ।

Similar Posts